किसानले अण्डाको मूल्य घटाए पनि उपभोक्ता महंगोमा किन्न बाध्य



काठमाडौं । किसानहरूले अण्डाको मूल्य घटाए पनि व्यवसायीहरूले पहिलेकै मूल्यमा अण्डा बिक्री गर्दा उपभोक्ता मारमा परेका छन् ।

डेढ महिना अघिसम्म किसानले अण्डाको मूल्य प्रति क्यारेट ३६० रुपैयाँमा बिक्री गरेकोमा हाल अण्डाको मूल्य घटेर ३३५ रुपैयाँ कायम भएको छ । तर, व्यवसायीहरूले भने बढेकै मूल्यमा अण्डाको बिक्री गरिरहेका छन् । जसको मार उपभोक्ताले खेप्नुपरेको छ ।

हाल बजारमा प्रति क्यारेट अण्डाको मूल्य ३८५ रुपैयाँदेखि ४०० रुपैयाँसम्म व्यवसायीहरूले बिक्री गरिरहेका छन् ।

किसानहरूले अण्डाको मूल्य बढाएका छैनन् । तर, बजारमा भने व्यवसायीहरूले बढी मूल्यमा बिक्री गरिरहेको अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष सिवराम केसीे बताए ।

उनका अनुसार करिब डेढ महिना अघिसम्म अण्डाको उत्पादन कम भएको र माग बढी भएकाले किसानले प्रति क्यारेट ३६० मा बिक्री गरेका थिए । त्यसबेला व्यवसायीहरूले प्रति क्यारेट ४०० रुपैयाँदेखि ४३० रुपैयाँसम्म बिक्री गरेका थिए ।

तर, अहिले किसानहरूले मूल्य घटाउँदा पनि व्यवसायीहरू मूल्य नघटाएको उनले बताए ।

‘संंघले हरेक हप्ता वा महिनाको आँकलन गरेर अण्डाको मूल्य निर्धारण गर्छ । जसमा माग र आपूर्ति अनुसार अण्डाको मूल्य घट्ने तथा बढ्ने भइरहन्छ,’ उनले भने ।

तर, अहिले अण्डाको मूल्य घटेको उनको भनाइ छ ।

‘डेढ महिनाअघि किसानले ३६० रुपैयाँसम्म बिक्री गरेका थिए । अहिले उक्त मूल्य घटेर ३३५ रुपैयाँमा झरेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘बजारमा भने अण्डाको मूल्य घटाएको देखिँदैन ।’

बजारमा किसानले बढाएको अवस्थामा व्यवसायीले झन धेरै बढाउने र घटाएको अवस्थामा मूल्य नघटाउने प्रवृत्तिले गर्दा समस्या देखिएको उनको भनाइ छ ।

यसका लागि सरकारले बजार अनुगमन गरी मूल्य नियमन नगर्दा उपभोक्ताले उचित मूल्यमा अण्डा खाना नपाएको उनले जिकिर गरे ।

संघले १२ दिनभन्दा अगाडि मात्रै अण्डाको मूल्य निर्धारण गरेको थियो । अब बजार हेरेर पुनः बजार हेरेर मूल्य निर्धारण गर्ने उनले बताए ।

त्यस्तै, नेपाल ह्याचरी उत्पादक संघाक अध्यक्ष टिकाराम पोखरेलले पनि बजारमा अण्डाको मूल्य नबढेको जिकिर गरे । तर, बजारमा अण्डाको मूल्य घटेको अवस्थामा पनि उपभोक्ताले उचित मूल्यमा खरिद गरी खाना नपाएको उनको भनाइ छ ।

किसानबाट दैनिक देशभरमा करिब ३३ लाख अण्डा उत्पादन हुन्छ । उत्पादन भएको सबै अण्डा दैनिकरुपमा खपत पनि हुँदै आएको अध्यक्ष केसीको भनाइ छ ।

तर, कहिलेकाँही बजारमा माग कम आएको अवस्थामा अण्डाको मूल्य घट्ने बताए । साथै, उत्पादन अनुसार आपूर्ति पनि धेरै भएको अवस्थामा मूल्य बढ्ने गर्दछ । तर, अण्डाको खपत मौसम अनुसार नहुने भएकाले खपत भने सँधै एउटै हुने उनको अनुभव छ ।

अझै बढ्न सक्ने
उपभोक्ताले प्रति क्यारेट ३८० देखि ४०० सम्म खरिद गरिरहेको अवस्थामा अझै मूल्य बढ्न सक्ने अण्डा उत्पादक संघका अध्यक्ष केसीको भनाइ छ ।

उनले गर्मी मौसममा अण्डा उत्पादन कम हुने भएकाले बजारको अवस्था हेर्दा मूल्य अझै बढ्न सक्ने अनुमान गरे ।

‘गर्मीले गर्दा अण्डाको उत्पादन कम हुन्छ,’ उनले भने, ‘त्यसैले आगामी दिनमा अझै मूल्य बढ्नेछ ।’

त्यस्तै, कोभिडपश्चात व्यवसायीक क्षेत्रमा भन्दा बढी घर–घरमा खपत बढी भएको उनले उल्लेख गरे । साथै, कोभिड कारण अण्डा उत्पादनमा कमी आएकाले आगामी दिनमा झन् बढ्ने उनको भनाइ छ ।


क्लिकमान्डु