क्यूआर कोड स्क्यानको प्रयोग एक महिनामा ४४ प्रतिशतले बढ्यो, कारोबार रकम पौने २ अर्ब



काठमाडौं । तपाईंले ‘क्यासलेस ट्रयाञ्ज्याक्सन’ भनेको त सुन्नु भएकै होला । अर्थात् नगदरहित कारोबार ।

पछिल्लो समय नेपालमा पनि यस्तो कारोबार उल्लेख्य रुपमा बढेको विभिन्न तथ्यांकले पुष्टि गरेका छन् । गत वर्षसम्म पनि सीमित भुक्तानी प्रदायक संस्था, बैंक तथा वित्तीय संस्थाले सीमित संख्यामा मात्रै कार्यान्वयनमा ल्याएको यस्तो सेवा अहिले अधिकांश मानिसले प्रयोग गर्न थालेका छन् ।

अझ कोरोना महामारीका कारण बैंक तथा वित्तीय संस्था बन्द हुँदा आर्थिक कारोबारलाई चलायमान बनाइ राख्नका लागि यस्तो कारोबार उल्लेख्यरुपमा बढेको हो ।

नगदरहित कारोबारमध्येको एउटा औजार हो ‘क्यूआर कोड स्क्यान’ । अर्थात् गोजीमा पैसा बोकिरहनु पर्ने बाध्यता हटाउँदै मोबाइलको एपमार्फत् नै क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्ने सुविधा ।

आफ्नो खातामा भएको पैसालाई स्क्यान गरेकै भरमा भुक्तानी गर्ने सुविधा पछिल्लो समय नेपालमा निकै बढेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब चेक काट्नु पर्दैन, नगदरहित कारोबार बढाउनुको विकल्प नभएको पटक पटक बताइसकेका छन् । राष्ट्र बैंकको नीति अनुसार नै पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाहरुले क्यूआर कोड स्क्यान गर्ने सुविधा पानपसलदेखि तरकारी पसलहुँदै टेम्पुमा समेत सुविधा उपलब्ध गराएका छन् ।

तपाईंहरु अहिले कुनै मन्दिरमा गएर भेटी चढाउनु परेमा वा तरकारी किन्नु परेमा क्यूआर कोड स्क्यान गरेर बिल भुक्तानी गर्ने सुविधा कैयन ठाउँमा शुरु भइसकेको छ ।

 

४४ प्रतिशतले बढ्यो क्यूआरको प्रयोग
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो एक महिनामा मात्रै ४४ प्रतिशतले क्यूआर कोड स्क्यान गर्नेको संख्या बढेको छ । पुस महिनाको तुलनामा माघ महिनामा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्नेको संख्या ४३.९६ प्रतिशतले बढेको छ ।

माघ महिनामा मात्रै ५ लाख ३५ हजार ७९० वटा कारोबार क्यूआर कोड स्क्यानमार्फत् भएका छन् । जसबाट १ अर्ब ७१ करोड २० लाख रुपैयाँ कारोबार भएको छ ।

जबकी पुस महिनामा यस्तो कारोबार संख्या ३ लाख ७२ हजार १७६ बाट १ अर्ब २४ करोड ५० लाख रुपैयाँ भएको थियो । मंसिर महिनामा यस्तो कारोबारको संख्या ३ लाख ४३ हजार ५७४ बाट १ अर्ब २५ करोड ६० लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकम  दश लाखमा


क्लिकमान्डु