राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकहरुको सरुवा, कुन विभागमा को पुगे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापनले बुधबारदेखि लागु हुने गरेर कार्यकारी निर्देशक र निर्देशकको सरुवा भएको हो ।

बम बहादुर मिश्र र निलम ढुङगाना डेपुटी गभर्नर भएपछि २ जना निर्देशकलाई कायम मुकाय निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

यसअघि लघुवित्त वित्तीय संस्था सुपरिवेक्षणका विभागिय प्रमुख रहेर अर्थमन्त्रायलमा आर्थिक सल्लाहकार रहेका डा. प्रकाश कुमार शेष्ठको समेत सरुवा भएको छ । सरुवा भएर कार्यकारी निर्देशक श्रेष्ठले आर्थिक अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् ।

सो विभागका प्रमुख तथा प्रवक्ता समेत रहेका डा. गुणाकर भट्टले भने राष्ट्र बैंकको बैंक सुपरिवेक्षणको जिम्मेवारी पाएका छन् । बैंक सुपरिवेक्षण विभागका प्रमुख रहेका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीको भने वित्त व्यवस्थापन विभागमा सरुवा भएको छ ।

यसैगरी यसअघि विकास बैंक सुपरिवेक्षणमा रहेका कार्यकारी निर्देशक ऋषिकेश भट्टको सम्पती तथा सेवा व्यवस्थापन विभागमा सरुवा भएको छ । साथै, वित्त व्यवस्थापन विभागीय प्रमुख रहेका कार्यकारी निर्देशक प्रदीपराज पौड्यालको विकास बैंक सुपरिवेक्षणमा सरुवा भएको छ ।

यसअघि बैंकिङ विभागका प्रमुख रहेका कार्यकारी निर्देशक नरेश शाक्यको राष्ट्र ऋण व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनको स्थानमा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरलाई सरुवा गरिएको छ ।

यस्तै, सम्पती तथा सेवा व्यवस्थापन विभागमा रहेका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीको लघुवित्त संस्था सुपरिवेक्षणमा र जनशक्ति विभागमा रहेका कार्यकारी निर्देशक रामु पौडेललाई विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

यसअघि मुद्रा व्यवस्थापनमा रहेका निर्देशक दयाराम शर्मा पंगेनीलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कायम मुकायम कार्यकारी निर्देशक र जनशक्ति व्यवस्थापन विभागमा रहेका निर्देशक तुलसी प्रसाद घिमिरेलाई जनशक्ति विभागमा कामु कार्यकारी निर्देशकमा सरुवा गरिएको छ ।


क्लिकमान्डु