सुनको कोटा दैनिक ३० केजी बनाउनुपर्ने व्यवसायीहरूको माग



काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सरकारले प्रदान गर्ने दैनिक १० केजी सुनको कोटाले बजार धान्न नसकेको भन्दै सुनको कोटा दैनिक ३० केजी बनाउनुपर्ने माग गरेको छ ।

हासंघले आज अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग महासंघका अध्यक्ष रमेश महर्जनले भेट गरी सो माग गरेको हो ।

महासंघका अनुसार सुनको आपूर्तिमा लामो समयदेखि अत्यधिक कटौती गरिएकोले मुलुकभर सुनको चरम अभाव सृजना भएको जनाए । साथै, यस्तै अवस्थामा अवैध कारोवारले बजार र समग्र गहना व्यवसायीलाई नै प्रतिकूल असर पर्ने अवस्था उत्पन्न भएको तर्फ ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।

त्यस्तै, आजै प्रधानमन्त्री एवं मन्त्री परिषद्को सचिवालयका सचिव डा. बैकुण्ठ अर्याल समक्ष महासंघका अध्यक्ष रमेश महर्जन, प्रथम उपाध्यक्ष रुद्रबहादुर बराईली र कोषाध्यक्ष द्वारिका विश्वकर्मा सम्मिलित प्रतिनिधिमण्डलले भेट गरी सुनको चरम अभावले सृजना गरेको असहज परिस्थितिबारेअवगत गराउँदै विभिन्न माग गरेको जनाएको छ ।

महासंघले साविकमा दैनिक २० र २५ केजी सुन विक्री वितरण हुँदै आएकोमा कोभिड–१९ को संक्रमण पश्चात २०७७ चैतको पहिलो हप्तादेखि नै दैनिक १० केजीमा झारिएको तर हाल अर्थतन्त्रका सबै क्षेत्रहरु पूर्ववतरुपमा सामान्य अवस्था आइसकेकोले सुनको दैनिक कोटा पनि पूर्व स्थितिमा लैजान माग गरेको छ ।

साथै, अवैध तत्वले चरम अभावको फाइदा लिन सक्ने र मागलाई धान्नै नसक्ने गरी अव्यावहारिक किसिमले आपूर्तिलाई नियन्त्रण गर्दा अवैध गतिविधि बढने तथा राजश्व चुहावटको संभावना अधिक हुने भएकाले वर्तमान अवस्थामा दैनिक कोटालाई कम्तीमा पनि ३० केजी बनाइनुपर्ने माग गरेको छ ।

त्यस्तै, महासंघले सुनको बिक्री वितरणलाई विकेन्द्रित गरी नेपाल राष्ट्र बैंकले जारी गरेको ‘सुन आयात तथा विक्री वितरण कार्यविधि– २०६८’ ले तोके अनुसार काठमाडौंको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर समेत अन्य ८ वटा स्थानबाट सुनको विक्री वितरण हुनुपर्ने जनाएको छ ।

त्यसैगरी, मुलुकभर सदस्यहरु रहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघलाई जिल्लाको कोटा उपलब्ध नहुनु न्यायोचित नभएकाले यस महासंघलाई जिल्लाको कोटा अविलम्ब उपलव्ध हुनुपर्ने बताएका छन् ।


क्लिकमान्डु