माउण्टेन इनर्जीको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाको उत्पादन यसै हप्तादेखि



काठमाडौं । कूल ४२ मेगावाट विद्युत् यसै सातादेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माण गरिएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन शुरु गर्ने भएको हो ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडको लगानी रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी गरेको हो । आयोजनाका परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सकेर विद्युत् उत्पादनको तयारी गरेको जानकारी दिए ।

‘दाना सव-स्टेशनबाट स्वीचार्डसम्म ब्याकलोडमा प्रसारण लाइनको परीक्षण भइरहेको छ’, उनले भने ‘ ड्याममा पानी थुनेर सुरुङमा पानी हाल्ने र टर्वाइन घुमाउने तयारीमा छौँ ।’

विद्युतगृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ ।

इञ्जिनियर खड्काले अबको एक हप्तादेखि १० दिनभित्र मिस्ट्रीखोलाले उत्पादन शुरु गर्ने बताए ।  सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले निलगिरि र घलेम्दीखोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाइएको विद्युत्गृह नजिकै स्वीचार्ड निर्माण गरिएको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएका दुईवटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ ।

बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । एघारमध्ये गत बर्खामा आएको बाढीले एक टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो ।

जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुनःनिर्माण गरिएको हो । ५  अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले  ७० करोड, जलविद्युत् विकास कम्पनीले १  अर्ब र नेपाल बैंकले र ५० करोड ऋण लगानी गरेका छन् ।

यसैगरी आयोजनामा नविल बैंकले १  अर्ब, लक्ष्मी बैंकको  ४० करोड, सिद्धार्थ बैंकको र ३० करोड र एस डेभलभमेन्ट बैंकको ३० करोड ऋण लगानी रहेको छ ।

आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सातवटा वडाका बासिन्दालाई १० लाख कित्ता सेयर बाँडफाँट गरिएको छ ।

साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ मा निर्माण अनुमति दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सबस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना ९  वर्षपछि निर्माण शुरु गरिएको थियो ।

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण गरिएका र निर्माणाधीन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ ।

कूल ५ मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन शुरु गरेको छ । अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण सकिएको छ । आयोजनाका प्रमुख चन्दनकुमार घोषले मिस्ट्रीखोलाको विद्युत सव-स्टेशनमा जोड्न प्रसारण लाइनको परीक्षण शुरु गरिएको बताए ।


क्लिकमान्डु