ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख बढीले आवेदन दिए, रेकर्ड ब्रेक



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा हालसम्मकै सबैभन्दा बढीले आवेदन दिएका छन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका सीइओ श्रीजेष घिमिरेका अनुसार १८ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

आइपीओमा आवेदन भर्नेको संख्याका आधारमा यो हालसम्मकै बढी हो । यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीमा हालसम्मकै सबैभन्दा बढी १४ लाख ८५ हजार जनाले आवेदन दिएका थिए । यो अपरान्ह साढे ४ बजेसम्मको तथ्यांक हो ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत सेयर ३ लाख ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको वित्तीय अवस्था हेर्दा आर्थिक वर्ष २०७६/७७ मा प्रति सेयर नेटवर्थ १३२.२९ छ । त्यसैगरी प्रतिसेयर आम्दानी १२.६५, नेटवर्थमा प्रतिफल ९.५१ प्रतिशत छ ।


क्लिकमान्डु