७ महिनामा बैंकको नाफा ४१ अर्ब, वाणिज्य बैंकहरुको नाफा घट्दा विकास बैंक र वित्त कम्पनीको बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्त कम्पनीको खुद नाफा १.४९ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको माघ महिना बैंक तथा वित्त कम्पनीले कुल ४१ अर्ब २२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ६१ करोड ८० लाख रुपैयाँले घटेर ४० अर्ब ६० करोड ६० लाख रुपैयाँमा सीमित भएको छ ।

बैंक तथा वित्त कम्पनीको हुल नाफा घटेपनि सो अवधिमा विकास बैंक र वित्त कम्पनीको नाफा भने बढेको छ ।

गत आवको माघ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको नाफा ३.७० प्रतिशत अर्थात् १ अर्ब ३८ करोड २० लाख रुपैयाँले घट्दा विकास बैंकहरुको १८.२८ प्रतिशत अर्थात् ५८ करोड ५० लाख रुपैयाँ र वित्त कम्पनीहरुको २६.९ प्रतिशत अर्थात् १७ करोड ९० लाख रुपैयाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक बैंक तथा वित्त कम्पनीहरुको चालु आर्थिक वर्षको माघ महिनासम्मको वित्तीय विवरण अनुसार सो अवधिमा वाणिज्य बैंकहरुले ३७ अर्ब ३३ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरुले ३ अर्ब ७८ करोड ५० लाख रुपैयाँ र वित्त कम्पनीहरुले ८६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले ३७ अर्ब ३३ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरुले ३ अर्ब २० करोड रुपैयाँ र वित्त कम्पनीहरुले ६८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

हाल २७ वटा वाणिज्य बैंक, ८ वटा राष्ट्रियस्तरका गरी १९ वटा विकास बैंक र २० वटा वित्त कम्पनीले बैंकिङ कारोबार गरिरहेका छन् । गत आवको सोही अवधिमा २७ वाणिज्य २४ विकास बैंक र २२ वटा वित्त कम्पनीहरु सञ्चालनमा थिए ।


क्लिकमान्डु