नदीमा जलसतह घट्दा विद्युत् उत्पादन घट्यो, भारतबाट ५४ प्रतिशत बिजुली आयात



काठमाडौं । प्रसारण लाइन बनाउने तर भारतमा बिजुली ल्याउन मात्रै मरिहत्ते गर्ने सरकारको सोचका कारण नेपाल विद्युत् प्राधिकरणको आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित हुने भएको छ ।

प्राधिकरणको विवरण अनुसार बुधबार मात्रै भारतबाट झण्डै ७२५ मेगावाट बिजुली आयात भएको छ । देशभित्र प्रसारण लाइन भएको भए झण्डै २०० मेगावाट बिजुली प्रणालीमा थप हुने अवस्था छ । तर, त्यसतर्फ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुनै पनि ध्यान दिएको छैन ।

नदीमा जलसतह घटेको तथा बिजुली उत्पादन घटेका कारण भारतबाट अत्यधिक मात्रामा बिजुली आयात गर्नुपरेको छ । प्रणाली सुधार तथा विद्युत् चुहावट नियन्त्रणमा समेत प्राधिकरणले ध्यान दिएको छैन ।

प्राधिकरणको नेतृत्व नराम्ररी रुमल्लिदा सबै प्रणाली ध्वस्त भएको छ । कर्मचारीले काम नगर्ने प्रवृत्ति पनि उत्तिकै हावी भएको छ । पूर्ण क्षमतामा आयोजना चलाउने तर्फ पनि ध्यान दिइएको छैन ।

मध्यमस्र्याङ्दी, मस्र्याङदी र कालीगण्डकी जस्ता आयोजनाबाट साँझको समयमा पूर्ण क्षमतामा नै बिजुली उत्पादन गर्न सकिन्छ । तर, सम्बद्ध पक्षका अनुसार ती आयोजनाबाट पनि पूर्ण क्षमता बिजुली उतपादन गरिएको छैन ।

दिनभरी पानी थुनेर राख्न साँझको समयमा बढी बिजुली उतपादन गर्न सकिने भएपनि प्राधिकरणले त्यसतर्फ ध्यान दिन नसकेको प्राधिकरणका कर्मचारी नै बताउँछन् ।

भारतबाट प्राधिकरणले कूल मागको झण्डै ५४ प्रतिशत बिजुली आयात गरिरहेको छ । कुलेखानी जलाशययुक्त आयोजनालाई पनि गत मंसिरदेखि नै चलाइएको छ ।

नेपालको एकमात्र जलाशयुक्त आयोजना हो । तीन वटा प्लान्ट रहेको सो आयोजनाबाट कूल १०४ मेगावाट बिजुली उत्पादन हुन्छ ।

जलाशयमा पानीको मात्रा घट्दै गएको छ । जसका कारण आगामी जेठसम्म पानी कुन तहसम्म रहने हो भन्ने कुनै ठेगान छैन । सो आयोजना पछिल्ला दिनमा २४ सै घण्टा चलाइएको छ । कुलेखानी जलाशयका एक कर्मचारीका अनुसार पानीको सतह झण्डै साढे ५ मिटर घटिसकेको छ ।

बिजुलीको माग पनि बढेकाले भारतबाट बढी आयात गर्नुपरेको प्राधिकरणको दावी छ । यस वर्ष माग बढेको छ । प्राधिकरणको बिहीबारको विवरण अनुसार कूल माग १ हजार ३५१ मेगावाट रहेको छ ।

प्राधिकरणका आयोजनाबाट मात्रै ४ हजार ५७८ मेगावाट घण्टा बिजुली उत्पादन भइसकेको छ । यस्तै, निजी क्षेत्रका आयोजनाबाट कूल ४ हजार ८२८ मेगावाट घण्टा बिजुली प्रवाह भएको छ ।

प्राधिकरणका आयोजनाबाट भन्दा निजी क्षेत्रका आयोजनाबाट बढी बिजुली प्रवाह भएको छ । बिजुली प्रवाहमा कुनै पनि समस्या नभएको हालको अवस्थामा भारतबाट मात्रे १४ हजार ५०३ मेगावाट घण्टा आयात भइरहेको छ । कूल माग भने २३ हजार ९०९ मेगावाट घण्टा रहेको छ । त्यो भनेको मेगावाटमा १ हजार ३५१ मेगावाट हो ।

आन्तरिक रुपमा तयार भएका आयोजनालाई शीघ्र सञ्चालन गर्न, सकिएका आयोजनालाई तत्काल प्रसारण लाइन बनाएर प्रणालीमा जोड्नुको साटो भारतबाट मात्रै बिजुली आयात गर्ने सोच नै गलत भएको जानकारहरुको भनाइ छ ।


क्लिकमान्डु