मोबाइल र इन्टरनेट बैंकिङ कारोबार सीमा दोब्बर



काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । मोबाइल बैंकिङ, मर्चेन्ट र अकाउन्ट ट्रान्सरमा हुने कारोबारको सीमालाई दोब्बर बनाएको छ ।

राष्ट्र बैंकले हाल कायम गरेको मोबाइल बैंकिङको सीमा प्रतिदिन १ लाख रुपैयाँबाट बढाएर २ लाख पुर्याएको छ । त्यसैगरी इन्टरनेट बैंकिङको सीमा १० लाख रुपैयाँ कायम गरिएको थियो । इन्टरनेट बैंकिङमध्ये मर्चेन्ट ट्रान्सफर र अकाउन्ट ट्रान्सफरको हाल कायम रहेको १० लाखको कारोबारको सीमा बढाएर २० लाख बनाएको हो ।

विद्युतीय कारोबारलाई प्रोत्साहन तथा सहजिकरणका लागि कारोबारको सीमा बढाइएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेँलले जानकारी दिए ।

प्रतिदिन कारोबारको सीमा राष्ट्र बैंकले निर्धारण गरेपनि प्रति कारोबारको सीमा भने बैंक तथा वित्त कम्पनीले आफू अनुकुल तय गर्न सक्ने उनले जानकारी दिए ।


क्लिकमान्डु