के चीनले मुम्बईको पावर ग्रीडमा हमला गरेकै थियो ?



पछिल्ला दिनमा एउटा अन्तर्राष्ट्रिय समाचार माध्यममा चीनले भारतको विद्युतीय प्रणालीमा साइबर हमला गरेको विषयले प्रमुखता पाइरहेको छ ।

विशेषगरी पश्चिमा सञ्चारमाध्यमले भारतको विद्युतीय प्रणालीमा चीनको साइबर सेनाले हमला गरी बिजुली प्रवाह नै रोकिदिएको समाचार विवरण सार्वजनिक भएको छ । चीनले भने पश्चिमा सञ्चारमाध्यमको दावीलाई सोह्रै आना गलत र तथ्यहिन समाचारको संज्ञा दिएको छ ।

चीनले बीबीसीको प्रसारण रोकेको केही समयपछि यस्ता समाचारहरु सार्वजनिक भएका छन् । केही समय पहिले चीनमा बीबीसी वर्ल्ड सर्भिसको प्रसारणमा रोक लगाइदिएको थियो । आन्तरिक मामिलामा हस्तक्षेप गरेको र कपोलकल्पित विवरण सार्वजनिक गरेको भन्दै चीनले बीबीसीको प्रसारणमा रोक लगाएको दावी गरेको छ ।

गत वर्ष चीन र भारतका सेनाबीच गलवान उपत्यकामा झडप भएको ४ महिनापछि भारतको आर्थिक राजधानी मुम्बईको ठूलो क्षेत्रमा प्रवाह भएको बिजुली रोकिएको थियो ।

मुम्बईको पावर ग्रीडमा समस्या आएको थियो । सोही कारण बिजुली प्रवाह रोकिएको थियो । अमेरिकाको म्यासाचुसेट्सस्थित साइबर सुरक्षा कम्पनी रिकार्डेड फ्यूचरले आफनो विवरणमा चीन सरकार संरक्षित साइबर सेनाले मुम्बईको विद्युत् प्रणालीमा हमला भएको दावी गरेको छ ।

चीन सरकारसँग जोडिएको एक ह्याकर समूहले विद्युतीय प्रणालीमा मालवेयर पठाएर हमला गरेको थियो । रिकार्डेड फ्यूचरको विवरण अनुसार उसले संसारभरको इन्टरनेट प्रयोगका बारेमा अध्ययन गर्दछ । न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार चीनले मालवेयरमार्फत् मुम्बईको प्रणालीमा हमला गरेको थियो ।

भारतको केन्द्रीय ऊर्जामन्त्री आरके सिंहका अनुसार सरकारको साथमा त्यस्तो कुनै प्रमाण फेला परेको छैन । जसबाट सावित होस् कि २०२० को मुम्बईमा भएको ब्ल्याकआउटमा चीन वा पाकिस्तानबाट साइबर हमला भएको होस् ।

भारतीय समाचार एजेन्सी एएनआईलाई सिंहले भनेका छन्– साइबर हमलामा चीन वा पाकिस्तानले गरे भन्ने बारेमा हाम्रो साथमा कुनै त्यस्तो प्रमाण छैन । केही मानिसले यो भनीरहेका छन् कि त्यसमा चिनियाँ समूहको हात छ । तर हामीसँग कुनै ठोस प्रमाण भने छैन ।

सो सम्बन्धमा भारतको महाराष्ट्र सरकारले पनि परिक्षण गरिरहेको छ । सो राज्यका गृहमन्त्री अनिल देशमुखका अनुसार साइबर प्रहरीले गरेको अनुसन्धान विधानसभामा पेश गरिनेछ ।

रिपोर्टमा भनिएको छ, बत्ती काटिने विषय साइबर हमलासँग जोडिएको छ वा त्यसको कारणबाट भएको छ छैन भन्ने बारेमा हामी जानकारी दिइनेछ । तर विवरणमा पावर ग्रीडमाथिको निशाना साध्ने विषयमा आएको समाचार सामग्रीमा बल पुग्ने खालका केही सूचना भने छन् ।

उनले भनेका छन् कि साइबर हमला केवल मुम्बईमा मात्रै भएको होइन, यो देशभर नै भएको हो । भारतको केन्द्रीयमन्त्री आरे सिंहले सो बारेमा जानकारी मागेका छन् र थप सतर्क रहन भनिएको छ ।

सन् २०२० को अक्टोबरमा १२ मा मुम्बईको एक क्षेत्रमा बिजुली काटिएको थियो । मुम्बईको आसपास वा महानगर क्षेत्रभित्र जनजीवनमा ठूलो असर परेको थियो । बिजुली नभएका कारण स्थानीय रेल, अस्पताल, सरकारी कार्यालयको कामकाजमा बाधा उत्पन्न भएको थियो ।

सो विषयमा चिनियाँ पक्षबाट आएको प्रतिक्रिया भने फरक छ । विदेश मनत्रालयका प्रवक्ताले एक सार्वजनिक विवरण सार्वजनिक गर्दै कुनै प्रमाण बिना नै आरोप लगाउनु गैर जिम्मेवारीपनको पराकाष्ठा हो । चीनले त्यस्ता गैरजिम्मेवार काममा आफूहरुको हात रहने भन्ने त परको कुरा, आफूहरुले सोच्न समेत नसक्ने बताएको छ ।

उता अमेरिकारले भने उक्त साइबर हमलामा चीनको हात रहेको आरोप लगाएको छ । उसले भारत, अमेरिकालगायतका देशका लागि चीन खतरा बनेको समेत तर्क गरेको छ । चीन र अमेरिकाबीचको व्यापार युद्ध पछिल्ला दिनमा शान्त भएको अवस्थामा अमेरिकाले संगीन आरोप लगाएको छ ।

उसले चिनियाँ जनमुक्ति सेनाको साइबर यूनिटले नै हमला गरेको आरोप लगाएको छ । ऊसँग हजारौका संख्यामा साइबर सेना रहेको दावी समेत गरेको छ ।

चीनले साइबर हमला गरेको प्रमाण प्राप्त भएको भन्दै अमेरिकाले मालवेयरको प्रयोग गरेको समेत तर्क गरेको छ । ह्याकरले एक सफ्टवेयर प्रोगाममा एक कोड जेनेरेट गरेर विद्युतीय प्रणाली ह्याक गरेको दावी गरिएको छ ।– बीबीसी


क्लिकमान्डु