फागुन लागेपछि बैंकहरुको बिजनेशः २६ वटाको कर्जा बढ्यो, ९ वटाको निक्षेप घट्यो, कस्को के भयो ?



काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले फागुनको दुई सातामा २३ अर्ब १६ करोड रुपैयाँले निक्षेप र ४४ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका छन् । कुल कर्जा प्रवाह र निक्षेप संकलन बढे पनि सो अवधिमा ९ वटा बैंकले निक्षेप र १ वटा बैंकको कर्जा प्रवाह घटेको छ ।

नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार माघ मसान्तदेखि फागुन १४ गतेसम्म २६ वटा वाणिज्य बैंकले कर्जा प्रवाह २ करोड रुपैयाँदेखि ४ अर्ब ७८ करोड रुपैयाँसम्म थप गरेका छन् ।

यसैगरी, सो अवधिमा १८ वटा बैंकको निक्षेप संकलन २२ करोड रुपैयाँदेखि ५ अर्ब ३ करोड रुपैयाँसम्म थप हुँदा ९ वटा बैंकको १३ करोड रुपैयाँदेखि २ अर्ब ४५ करोड रुपैयाँसम्म घटेको छ ।

सो अवधिमा निक्षेप संकलन बढाउनेको पहिलो सूचीमा एनआईसी एशिया बैंक र कर्जा बढाउनेको सूचीमा नेपाल इन्भेष्टमेण्ट बैंक छन् । तर सो अवधिमा इन्भेष्टमेण्ट बैंकले १९ करोड रुपैयाँले निक्षेप संकलन भने घटाएको छ ।

कर्जा बढाउनेको दोस्रो सूचीमा समेत एनआइशी एशिया बैंक छ भने निक्षेप बढाउनेको दोस्रो नम्बरमा सानिमा बैंक रहेको छ ।

दुई सातामा कुन बैंकको कति विजनेस ?
संघद्वारा उपलब्ध तथ्यांकअनुसार गत माघ मसान्तमा एनआईसी एशिया बैंकले २ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा फागुनको दोस्रो सातामा आइपुग्दा ५ अर्ब ३ करोड रुपैयाँले थप गरी २ खर्ब ८० अर्ब ३३ करोड रुपैयाँ पुर्याएको छ ।

साथै बैंकले माघ मसान्तमा २ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा फागुन १४ गतेसम्म ४ अर्ब ३८ करोड रुपैयाँले कर्जा प्रवाह थप गरी २ खर्ब ४७ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ ।

यसैगरी माघ मसान्तदेखि फागुन १४ गतेसम्म सानिमा बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ निक्षेप थप गर्दा १ अर्ब १३ करोड रुपैयाँले कर्जा बढाएको छ । साथै, सो अवधिमा एभरेष्ट बैंकले २ अर्ब ८७ करोड रुपैयाँले निक्षेप थप गर्दा १ अर्ब १३ करोड रुपैयाँले कर्जा बढाएको छ ।

सनराइज बैंकले फागुनको दोस्रो सातामा २ अर्ब ८५ करोड रुपैयाँले निक्षेप र १ अर्ब १ अर्ब ४० करोड रुपैयाँले कर्जा प्रवाह थप गरेको छ । सेञ्चुरी बैंकले सो अवधिमा २ अर्ब ७० करोड रुपैयाँले निक्षेप थप गर्दा २ करोड रुपैयाँले कर्जा प्रवाह घटाएको छ ।

यस्तै, हिमालयन बैंकले २ अर्ब २३ करोड रुपैयाँ निक्षेप र २ करोड रुपैयाँ कर्जा, प्राइम बैंकले २ अर्ब ४ करोड रुपैयाँ निक्षेप र १ अर्ब १ करोड रुपैयाँ कर्जा, नेपाल एसबीआई बैंकले १ अर्ब ७५ करोड रुपैयाँ निक्षेप र ८५ करोड रुपैयाँ कर्जा थप गरेको छ ।

साथै, सो अवधिमा नबिल बैंकले १ अर्ब ६७ करोड रुपैयाँ निक्षेप र ४१ करोड रुपैयाँ कर्जा, सिद्धार्थ बैंकले १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप र २ अर्ब ५१ करोड रुपैयाँ कर्जा, माछापुच्छ्रे बैंकले १ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १ अर्ब ५ करोड रुपैयाँ कर्जा थप गरेको छ ।

फागुनको दोस्रो सातामा एनएमबि बैंकले ८४ करोड रुपैयाँ निक्षेप र २ अर्ब ५४ करोड रुपैयाँ कर्जा, कृषि विकास बैंकले ८० करोड रुपैयाँ निक्षेप र १ अर्ब ५७ करोड रुपैयाँ कर्जा थप गरेका छन् ।

साथै, सो अवधिमा नेपाल बंगलादेश बैंकले ५४ करोड रुपैयाँ निक्षेप र १ अर्ब २६ करोड रुपैयाँ निक्षेप कर्जा, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३८ करोड रुपैयाँ निक्षेप र २ अर्ब ३० करोड रुपैयाँ कर्जा थप गरेको छ ।

मेगा बैंकले फागुनको दोस्रो सातामा २७ करोड रुपैयाँ निक्षेप र ७० करोड रुपैयाँ कर्जा, एनसीसी बैंकले २५ करोड रुपैयाँ निक्षेप र १ अर्ब २० करोड रुपैयाँ कर्जा, लक्ष्मी बैंकले २२ करोड रुपैयाँ निक्षेप र ४० करोड रुपैयाँ कर्जा थप गरेको छ ।

दुई सातामा निक्षेप घटाउँदा कर्जा बढाउने बैंकहरु
फागुनको दोस्रो सातामा ९ वटा वाणिज्य बैंकले निक्षेप संकलन घटाउँदा कर्जा प्रवाह भने बढाएका छन् । संघद्वारा उपलब्ध तथ्यांक अनुसार माघ ३० गतेदेखि फागुन १४ गतेबीचमा राष्ट्रिय वाणिज्य, नेपाल बैंक, प्रभु, कुमारी, सिटिजन्स, बैंक अफ काठमाण्डू, ग्लोबल, नेपाल इन्भेष्टमेण्ट र सिभिल बैंकको निक्षेप संकलन घटाउँदा कर्जा प्रवाह भने थप गरेका छन् ।

सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ४५ करोड रुपैयाँ निक्षेप घटाउँदा १ अर्ब २३ करोड रुपैयाँले कर्जा बढाएको छ । साथै, नेपाल बैंकले १ अर्ब ९६ करोड रुपैयाँले निक्षेप घटाउँदा १ अर्ब ६४ करोड रुपैयाँ कर्जा थप गरेको छ ।

यस्तै, सो अवधिमा प्रभु बैंकले १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप घटाउँदा २ अर्ब ५० करोड कर्जा थप, कुमारी बैंकले १ अर्ब २६ करोड रुपैयाँ निक्षेप घटाउँदा २ अर्ब ६२ करोड रुपैयाँ कर्जा थप, सिटिजन्स बैंकले ५८ करोड रुपैयाँ निक्षेप घटाउँदा २ अर्ब १३ करोड कर्जा थप र बैंक अफ काठमाण्डूले ३९ करोड रुपैयाँ निक्षेप घटाउँदा ४६ करोड रुपैयाँले कर्जा थप गरेको छ ।

साथै, सो अवधिमा ग्लोबल आइएमई बैंकले ३१ करोड रुपैयाँ निक्षेप घटाउँदा ३ अर्ब ७१ करोड रुपैयाँ कर्जा थप, नेपाल इन्भेष्टमेण्ट बैंकले १९ करोड रुपैयाँ निक्षेप घटाउँदा ४ अर्ब ७८ करोड रुपैयाँ कर्जा थप र सिभिल बैंकले १३ करोड रुपैयाँ निक्षेप घटाउँदा १ अर्ब ५५ करोड रुपैयाँले कर्जा प्रवाह थप गरेको छ ।


क्लिकमान्डु