सनराइज बैंकको ७१औं शाखारहित बैंकिङ सेवा स्याङजाको पुतलिबजारमा



स्याङजा। सनराइज बैंकले स्याङजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ हेलु स्याङजामा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।

योसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ७१ पुगेको छ । बैंकले पुतलीबजारमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा युवराज अर्याललार्ई नियुक्त गरेको छ ।

शनिबार फागुन १५ गते आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पुतलीबजार नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछानेको उपस्थिती थियो ।

साथै भिरकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शेषकान्त अर्याल, भिरकोट नगरपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री जगदिश प्रसाद कोईराला समेतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सनराइज बैंकका गण्डकी प्रदेश प्रमुख सुजन पौडेल वालिङ शाखाका शाखा प्रबन्धक ध्रुवप्रसाद लम्साल र अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत् कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा शुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, ७१ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु बिस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु