लघुवित्तले नयाँ शाखा खोल्दा कम्तीमा एउटा गाउँपालिकामा हुनैपर्ने



काठमाडौं । लघुवित्त कम्पनीहरुले गत पुस मसान्तपछि काठमाडौं उपत्यका बाहिर २ वटा शाखा खोलेपछि मात्रै काठमाडौंमा शाखा खोल्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशिका २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो ।

लघुवित्त कम्पनीहरुले उपत्यका बाहिर २ वटा शाखा खोलेपछि मात्रै उपत्यकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएको स्थानीय तहका वडामा एउटा शाखा खोल्न स्वीकृति दिइने उल्लेख छ ।

तर काठमाडौं बाहिर शाखा खोल्दा कम्तीमा एउटा शाखा गाउँपालिकामा हुनुपर्ने व्यवस्था गरिएको छ ।

जारी संशोधित निर्देशिकामा भनिएको छ, ‘काठमाडौं उपत्यका बाहिर (महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा) २०७७ पुस मसान्तपछि २ वटा शाखा खोली सञ्चालनमा ल्याएपछि काठमाडौं उपत्यकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएको स्थानीय तहका वडाहरुमा एक शाखा खोल्न स्वीकृति प्रदान गरिनेछ । यसरी काठमाडौं उपत्यका बाहिर खोलिने २ शाखामध्ये कम्तीमा एक शाखा गाउँपालिकामा खोलिएको हुनुपर्नेछ ।’


क्लिकमान्डु