आइपीओ निकाल्न लागेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हट्यो



काठमाडौं । सर्वसाधारणलाई बुक बिल्डिङ प्रणालीबाट सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हटेको छ ।

रेटिङ ऐजेन्सी इक्रा नेपालले सर्वोत्तमलाई नेगेटिभ लिष्टबाट हटाएको हो ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीबाट ६० लाख कित्ता सेयर निष्कासन गर्ने जनाएको छ । यसको लागि प्रक्रिया सुरु गरिसकेको छ ।

सर्वोत्तम सिमेन्टले नेगेटिभ लिष्टमा पर्दा ८ अर्ब ५० करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको थियो । अहिले ६ अर्ब ३५ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ ।
इक्राले नेगेटिभ लिष्टबाट हटाउदै बीबीबी प्लस रेटिङ दिएको हो ।

क्लिङकर सहितको सर्वोत्तम सिमेन्ट नेपालको ठूलो सिमेन्ट उद्योगमा पर्छ । जसमा व्यवसायिक घराना सौरभ ग्रुपका ६२ प्रतिशत लगानी रहेको छ । सौरभ ग्रुपको सिमेन्ट उद्योगमा २० वर्षको अनुभव छ । जगदम्बा ब्राण्डको सिमेन्टमा पनि सौरभ ग्रुपको मुख्य लगानी रहेको छ ।

सर्वोत्तम सिमेन्टले उद्योगहरुलाई क्लिङकर बिक्री गर्छ भने उपभोक्ताको लागि पनि सर्वोत्तम ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट बिक्री गर्ने गरेको छ । कम्पनीले बिक्री क्लिङकर भने सौरभ ग्रुपको लगानी भएको २ वटा सिमेन्ट उद्योगलाई मात्र ४२ प्रतिशत बिक्री गर्ने देखिएको छ ।

सर्वोत्तम सिमेन्टले गतवर्ष ७ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको थियो । यो वर्ष ६ महिनामा ३ अर्ब ९२ करोड रुपैयाँको बिक्री गरेको छ ।

नेपालमा सिमेन्ट उद्योगमा तीव्र प्रतिस्पर्धा छ । ५५ वटा सिमेन्ट उद्योग छन् जसमा २० वटाको आफै क्लिङकर उत्पादन गर्छन् ।


क्लिकमान्डु