दोर्दी-१ को बिद्युत् उत्पादन बैशाखदेखि
लमजुङ । लामो समय कोभिडले प्रभावित बनेको यहाँका दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ ।
लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको आगामी वैशाख महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताए ।
‘कोभिडका कारणले झण्डै ६ महिना जस्तै काम प्रभावित भएकाले निर्माण अवधि लम्बिन पुगे पनि अब निर्धारित समयमा काम सम्पन्न गर्दै बिजुली उत्पादन गर्छौ,’ उनले भने ।
आयोजनाको हालसम्म ९० प्रतिशत बढी निर्माण कार्य सम्पन्न गर्दै बाँकी पनि सम्पन्न गर्न कामलाई तीव्रता दिँदै आएको उनको भनाइ छ । गत चैत महिनामै बिजुली उत्पादन गर्ने आयोजनाले जनाए पनि विविध कारणले निर्माण अवधि बढेको आयोजनाले जनाएको छ ।
आयोजनाको दुई हजार ५१५ मिटर लामो रहेको सुरुङ ब्रेक थु्र भएको आयोजनाले जनाएको छ । त्यस्तै सिभिल संरचना निर्माणको काम सम्पन्न गरेको छ । आयोजनाको ७०० मिटर पेनस्टक पाइपमध्ये १५० मिटर पाइप जडान हुन बाँकी रहेको आयोजना प्रमुख सिलवालले बताए ।
आयोजना आफैँले सव स्टेसनसम्म आवश्यक पर्ने साढे तीन किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नेे १३२ केभी कीर्तिपुर सव स्टेसनमा जोडिने छ । यसको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको र २० प्रतिशत मात्र बाँकी छ ।
त्यस्तै, पावर हाउसमा मेसिन जडानको काम भइरहेको आयोजनाले जनाएको छ । रु दुई अर्ब २९ करोडको लगानीमा निर्माणकार्य सक्ने लक्ष्यका साथ विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो । तर अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी, लकडाउनलगायतका कारणले निर्माण अवधि लम्बिएको हो ।
आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।
त्यस्तै यस आयोजना अघि यस दोर्दी कोरिडोरमै निर्माणाधीन दुई आयोजनाले आगामी चैत महिनाभित्रै बिजुली उत्पादन गर्ने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् र लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाबाट बिजुली उत्पादन हुने भएको छ । यस जिल्लाबाट चैत महिनामा यी दुई आयोजना गरी ५२ मेगावाट बिजुली उत्पादन भएसँगै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछन् ।