अर्थतन्त्र लयमा फर्किँदा तरलता संकुचन भइ निक्षेपको ब्याजदर बढ्दै



काठमाडौं । बैंकिङ प्रणालीमा गत मंसिर महिनाको अन्तिम सातामा २ खर्ब ३० अर्ब रुपैयाँसम्म अधिक तरलता थियो । तर हाल प्रणालीमा ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कोरोना भाइरसको नियन्त्रणको लागि सरकारले गरेको करिब ४ महिनाको लकडाउनको प्रभावमा बैंकहरुमा कर्जाको माग नहुँदा लगानी योग्य रकम बैंकमा थुप्रिएको थियो ।

यसबीच तरलता व्यवस्थापनमा राष्ट्र बैंकले विभिन्न मौद्रिक उकरण प्रयोग गरिरहेको छ । भने, बैंकहरुले समेत निक्षेप संकलन र कर्जा प्रवाहमा संतुलन मिलाइरहेका छन् ।

जसका लागि बैंकहरुले कर्जा प्रवाह आक्रामक रुपमा वृद्धि गर्दा निक्षेप संकलन भने कतिपय बैंकले घटाइरहेका छन् । यसको प्रभावले भविष्यमा बैंकिङ प्रणालीमा तरलता संकुचन हुँदै जाँदा निक्षेप तान्न बैंकहरुले ब्याजदर बढाउन प्रतिस्पर्धा गर्न सक्ने अनुमान सरोकारवालाको छ ।

अर्थतन्त्र चलायमान हुँदै पहिलेको अवस्थामा फर्किदै जाँदा बैंकहरुमा कर्जाको माग बढ्दो छ । आयात बढ्दा र रोकिएका तथा नयाँ परियोजनामा सञ्चालनमा आउँदा कर्जाको माग बढेको राष्ट्र बैंकमा प्रवक्ता गुणाकर भट्टले बताए ।

‘पछिल्लो समयमा ठुलो परिमाणमा आयात बढेको छ भने कर्जा विस्तार समेत बढेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘बैंकमा डिपोजिट गरिउको पैसा आयातको लागि निकालिएको छ भने बैंकको अधिकांश कर्जा समेत आयात प्रयोजनकै लागि प्रवाह हुन्छन् ।’

गत आसार मसान्तको तुलनामा माघ महिनासम्म देश भित्रिने वस्तु तथा सामानको आयात ६५.९४ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म ८५ अर्ब ८० करोड रुपैयाँ बराबरको आयात भएकोमा माघ महिनामा आइपुग्दा ५६ अर्ब ५८ करोड रुपैयाँले बढेर १ खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

साथै, कर्जा प्रवाह समेत चालु आवको ६ महिनामा १२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तमा बैंक तथा वित्त कम्पनीले ३२ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन पुस मसान्तमा आइपुग्दा ३६ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय आयात बढेकै कारणले बैंकमा कर्जा बढ्दै जाँदा बैकिङ प्रणालीमा तरलता संकुचन हुँदै गएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘वाणिज्य बैंकहरुमा अहिलेसम्मको नै सबैभन्दा बढी माघ महिनामा कर्जा बढेको छ, कोरोना सामान्य हुँदै जाँदा कर्जा कर्जाको माग बढेको हो, यही अवस्थामा कर्जा विस्तार भएमा केही महिना पछि नै तरलतामा दवाब आउन सक्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘जसकारण निक्षेपकर्ताले पाउने ब्याजदर अहिलेको भन्दा केही प्रतिशत बढ्न सक्ने सम्भावना देखिन्छ ।’

अहिले बैंकहरुले दिने निक्षेपको ब्याजदर कम भएको कारण केही निक्षेप सहकारी संस्थाहरु निक्षेप स्थानान्तर भएको अनुमान गरिएको उनले जानकारी दिए । तर सो निक्षेप समेत अप्रत्यक्ष रुपमा बैंकिङ च्यानलमा नै आउने उनको भनाइ छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले चालु आवको ७ महिनामा २ खर्ब ९९ अर्बले निक्षेप संकलन थप गर्दा ४ खर्ब १४ अर्ब रुपैयाँले कर्जा प्रवाह थप गरेका छन् ।

गत असार मसान्तमा ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २९ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । माघ महिनामा आइपुग्दा ३७ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् बैंकहरुको सीसीडी रेसीयो ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्याउको छ । कतिपय बैंकहरुको पुस मसान्तमा सीसीडी सीमा नजिक पुगेको छ ।

अहिलेकै अवस्थामा आयात बढ्दा र कर्जाको माग बढ्दा बैंकहरुले तरलता व्यवस्थापनको लागि अहिलेदेखि नै निक्षेपकर्तालाई आकर्षण गर्न ब्याजदर बढाउनु पर्ने उनको सुझाव छ ।

‘निक्षेपलाई सिस्टमभन्दा बहिर जान दिन हुँदै भनेर पहिलेबाटै भनिएको हो, सहकारीसंस्थाहरुमा गतवर्षको तुलनामा बचत अत्याधिक बढेको छ,’ उनले थपे, ‘बैंकहरुले अहिले बचतमा २ प्रतिशत ब्याज दिएका छन् जसले गर्दा निक्षेपकर्ता सरकारी संस्थाहरुमा आकर्षित भएको देखिन्छ, यसलाई आधारमानेर पनि बैंकहरुले भविष्यमा आउने तरलता दवाबको समस्यालाई व्यवस्थापन गर्न अहिलेबाटै निक्षेपकर्तालाई ब्याजदरमा सन्तुष्टी दिन आवश्यक छ ।’

नेपालका बैंकहरुमा निक्षेपको प्रमुख स्रोत रेमिट्यान्स हो । तर निक्षेपको ब्याजदर घट्दा देश भित्रिने रेमिट्यान्स समेत घट्ने हुँदा बैंकहरुले त्यसमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

‘कुनै समय बैंकहरुले तरलता अभाव हुँदा निक्षेपको ब्याजदर १३ प्रतिशतसम्म पुर्याएका थिए सोही समय नै सबैभन्दा बढी रेमिट्यान्स देश भित्रिएको थियो,’ उनले थपे, ‘अहिलेको अवस्थाको आकंलन गरी बैंकहरुले निक्षेपकर्तालाई आकर्षण गर्ने नीति लिनु पर्ने देखिन्छ ।’

अहिले बैंकिङ प्रणालीमा रहेको तरलता समेत साधारण निक्षेपकर्ताको भन्दा राष्ट्र बैंकले पुनरकर्जामार्फत् पठाएको रकम भएको उनले जानकारी दिए ।

पुनरकर्जामार्फत् ८७ अर्ब ८७ करोड रुपैयाँ राष्ट्र बैंकले बजार पठाएको छ । तर यसबीचमा विभिन्न मौद्रिक उपकरणमार्फत् प्रणालीबाट पैसा समेत र्फिता सरकारको खातामा गएको छ ।

बढ्दो आयात र कर्जा विस्तार तथा निक्षेप संकलनको वृद्धिदर अनुसार केही समय पछि नै बैंकिङ प्रणालीमा तरलता दवाब सिर्जना हुन सक्ने चार्डर्ट एकाउन्टेन्ट तथा बैंक विज्ञ अनलराज भट्टराइले बताए ।

‘अहिलेको अवस्थामा कर्जा ४ सय २२ अर्बले कर्जा बढ्दा ३ सय अर्ब निक्षेप बढेको छ, भने यही अवस्थामा सरकारी खर्चपनि खासै निकासा हुन सकेको छैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘आयात समेत बढेको र सरकारले आन्तरीक ऋणमार्फत् बैंकहरुबाट पैसा उठाइरहेको छ ।’

जसकारणले गर्दा बैंकिङ प्रणालीमा चैतपछि तरलता दवाब पर्न सक्ने उनको अनुमान छ ।

‘अहिलेकै अवस्थामा निक्षेप संकलन र कर्जा प्रवाह हुन्छभने तरलतामा दवाब निश्चितनै हुन्छ, जसकारण १.५ प्रतिशतसम्म निक्षेपको ब्याजदर माथि जान सक्छ,’ उनले थपे, ‘अहिले बैंकहरुमा निक्षेप बढ्न सकेको छैन भने, ७÷८ महिनायता खर्च नभएर बसेको पैसा समेत निक्षेपकर्ताले झिकेर आयातमा र अन्य क्षेत्रमा लगानी गरिरहेका छन् ।’

बैंकहरुले भविष्यमा आउनज सक्ने समस्थाको व्यवस्थापनको लागि अहिलेबाटै योजना बनाएर कारोबार गर्दा समस्या जटिल नहुने उनको भनाइ छ ।


क्लिकमान्डु