सेयर बजारमा विदेशी लगानी आवश्यकता कि बाध्ययता ?: नीरव पुडासैनीको लेख



विश्व पुँजी बजारले विकास गरेको प्रविधि र कार्यशैली हामीले सहजरुपमा अनूकरण त गरिरहेका छौं, तर अत्यन्तै न्यून रुपमा ।  ‘झिङ्गा मारी टाँसी’ हो यस्तै अनुरुपको सिको सिद्दान्तको जगमा रहेर।

आजको भूमण्डलिकृत विश्वबजार एउटा सानो संगठन सरह भइसकेको छ। लगानीको दृष्टिकोणबाट कुनै पनि देशको सीमा अवरोध हुन छाडिसक्यो । जसका पछिल्ला उदारणहरु विश्व पूँजी बजारमा सहजै देख्न सकिन्छ।

भारतलगायत विश्वका परिष्कृत पुँजी बजारमा देखिने विदेशी लगानीले त्यस क्षेत्रको पुँजी बजारको विकासमा टेवा पुर्‍याएको छ। भारतले करिब २४/२५ वर्षअघि देखिनै आफ्नो पुँजी बजारमा विदेशी लगानीलाई पूर्णरुपमा स्वागत गरेको थियो । जसको फलस्वरुप भारतको पुँजी बजार पुँजीकरणको दृष्टिबाट आज विश्वको ठूलो बजारहरुको गणनाभित्र पर्न थालिसकेको छ।

भारतको पुँजी बजार विश्व चासोको विषय भएको छ। आमरुपमा विदेशी प्रत्यक्ष लगानी र विदेशी संस्थागत लगानीलाई एकै ठाउँमा राखेर हेरिन्छ। हाम्रो सन्दर्भमा यि दुबै किसिमका लगानीको अनुभव हाम्रो अर्थतन्त्रलाई छैन । त्यसकारण बुझ्न के जरुरी हुन्छ भने, संस्थागत लगानी केवल धितोपत्र बजारमा ‘लगानी’ को हेतुले गरिन्छ । जुन छोटो समयका लागि हुन्छ।

यसमा प्रत्यक्ष लगानीको तुलनमा पुँजी बढी चलायमान हुन्छ । साथै व्यक्तिले संस्थागत लगानीको सीमाभित्र बसेर लगानी गर्न सक्छ । जुन विदेशी प्रत्यक्ष लगानीद्वारा असम्भव हुन्छ।

नेपालमा पनि पुँजी बजारमा विदेशी लगानी भित्राउने कुराहरु यदाकदा सुन्नमा आइरहेको हुन्छ। विदेशी लगानी देशमा भित्रिनु अत्यन्तै सकारात्मक कुरा हो। तर यसको सही व्यवस्थापन गर्न सकिएन भने कुनै पनि बेला हाम्रो बामे सरिरहेको पुँजी बजार थला पर्नसक्छ।

त्यसकारण लगानी स्वागत गर्नुभन्दा पहिले यसका दुबै पक्षहरुको सुक्ष्म अध्ययन गर्न जरुरी हुन्छ। नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको माध्यमबाट मात्र पुँजी लगानी गर्न ढोका खोलिनु पर्छ र गैरआवासीय लगानीकर्ताको पनि त्यही व्यवस्था अनुसर लगानी खुलाउनु पर्छ।

नेपालको पुँजी बजारको आकार अनुसार सजिलै संस्थागत लगानी भित्रिँदैन। तर गैरआवासीय नेपालीको लगानी भित्रिन सक्छ। शुरुका दिनदेखि नै उचित अनुगमन तथा व्यवस्था गर्न जरुरी हुन्छ।

गैरआवासीय नेपालीलाई पुँजी बजारमा गरिने लगानीको सीमा तथा धितोपत्र राफसाफ गर्न सकिने न्यूनतम अवधि तोकिनु पर्छ। किनभने पुँजी बजारमा यस्ता विदेशी लगानी आउँदा बजार संवेदनशील हुन्छ र धेरैजसो बजारमा सकारात्मक प्रभाव पर्छ र पुँजी बाहिरिँदा नकारात्मक प्रभाव पर्छ।

संस्थागत लगानीकर्ता त्यस्तो संस्था हो, जो आफ्नो देश बाहिर गठन गरिन्छ र जसको प्रमुख उद्देश्य धितोपत्रमा लगानी गर्ने हुन्छ। जस्तै पेन्सन कोष, सामूहिक लगानी कोष, बैंक, विश्व विद्यालय कोषआदि।

विदेशी संस्थागत लगानी अर्न्तगत यसले सिधैं आफ्ना लागि अथवा आफ्ना व्यक्तिगत ग्राहक, दुबैका लागि लगानी गर्न सक्छ। नियामक निकायले यस्ता सस्थागत लगानीकर्ताहरुलाई लगानीको अनुमति दिनुभन्दा अगाडि त्यस संस्थाको अनुभव, योग्यता, आर्थिक स्थिति, इमान्दारी, स्पष्टताआदिको अध्ययन गरेर मात्र दिनुपर्छ।

विदेशी संस्थागत लगानीको गठन प्रकृया सम्बन्धि देशको मान्यताअनुसार भएको हुनुपर्छ। साथै जुन देशको पुँजीबजारमा लगानी गर्ने हो, त्यस देशको केन्द्रीय बैंकको पूर्वस्वीकृति अत्यन्तै जरुरी हुन्छ। संस्थागत लगानीको उचित व्यवस्थापनको कारण बजारमा पुँजी बृद्धि हुनुको साथै धितोपत्र कारोबार बढाँउछ । अनि बजार मूल्य अनावश्यक रुपमा चलायमान हुन्छ।

हाम्रो जस्तो संस्थागत सुशासन निकै कमजोर भएको बजारमा विदेशी लगानीको कारण अनावश्यक चलखेल हुँदैन भनेर विश्वास गर्न सकिन्न। यस्ता किसिमका लगानीहरु के उद्देश्यका साथ गरिएको छ भन्न सकिने अवस्था निकै न्यून हुन्छ।

किनभने विदेशी संस्थागत लगानीकर्ता नाफा मात्रको उद्देश्यका साथ आउँदैनन्, उनीहरुको प्रमुख उद्देश्य आफ्नो लगानीमा विविधिकरण ल्याउनु पनि हुन्छ। सेयर बजार र विदेशी लगानीमा सकारात्मक सहसम्बन्ध हुन्छ।

विगत केहि वर्षदेखि भारतीय पुँजी बजारमा गरिएको विदेशी लगानीको कारण त्यस बजारमा आएको चढावले यसको पूष्टि गर्छ। यद्यपि यस्ता लगानीका कारण भारतको अर्थराजनीतिमा गलत तरङ्ग पनि सँगै लिएर आएको छ। यस्ता लगानीका कारण संस्थागत राजनीति मौलाएको हामी महसूस गर्न सक्छौ।

हाम्रो सर्न्दभमा सरकार संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा स्वागत गर्न तयारी गरिरहेको देखिन्छ। विदेशी लगानीले हाम्रो पुँजी बजारको पुँजीकरण बढ्नुको साथै प्रविधिको पनि विकास गर्न सकिन्छ। हाम्रा नियामक निकायले यस्ता लगानी भित्रिएसँगै साना लगानीकर्ताको अधिकार सुरक्षित गर्न सक्नुपर्छ।

यसका लागि विदेशी लगानीकर्तालाई एउटा धितोपत्रमा शुरुमा १५ देखि २० प्रतिशतसम्म मात्र लगानी गर्ने अनुमति दिनुपर्छ। धेरैजसो विदेशी लगानीकर्ताहरुले आफ्नो पुँजीको जोखिम कम गर्न विभिन्न धितोपत्र बजारमा लगानी बिस्तार गर्छन्।

त्यसकारण उनीहरुको पुँजी कुन समयमा धितोपत्र बजारमा भित्रन्छ, कुन समयमा बाहिरन्छ भन्न सकिन्न। यस्तो पुँजी चालको जोखिम कम गर्न सरकारले सीमा तोक्नु जरुरी हुन्छ। विदेशी भित्राउनुभन्दा अगाडि सरकार हाम्रो बजारको प्रविधिमा लगानी गर्न तयार हुनुपर्छ । कमजोर प्रविधिमा खेल्न यस्ता पोख्त विदेशीलाई ठूलो कुरा हुन्न।

धितोपत्र बजारको कारोबार समय निकै न्यून छ । त्यसकारण यसको समय केही बढाउन पनि पहल गरिनुपर्छ। कागजी धितोपत्रलाई विद्युतीय प्रणालीमा समावेश गरिनु अर्को महन्वपूर्ण पक्ष हो। साथै धितोपत्र अपराधमा कारबाही गर्न कडा कानूनको पनि व्यवस्था गर्न जरुरी छ।


क्लिकमान्डु