क्यूआर कोड स्क्यानको कारोबार संख्या बढ्यो, रकम घट्यो



फाइल तस्बिर

काठमाडौं । क्यासलेस कारोबारको कारोबार संख्या बढे पनि पछिल्लो समय कारोबार रकममा भने कमी आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको तथ्यांक अनुसार अघिल्लो महिनाको तुलनमा कारोबार संख्यामा वृद्धि भए पनि कारोबार रकममा भने झिनो अन्तरले कमी आएको छ ।

प्रयोगकर्ताको संख्याका आधारमा गत मंसिर महिनामा ३ लाख ४३ हजार ५७४ पटक कारोबार भएको थियो । जबकी पुस महिना यो संख्या बढेर ३ लाख ७२ हजार १७६ पुगेको थियो ।

तर कारोबार रकमका आधारमा मंसिर महिनाको तुलनामा केही कमी देखिएको छ । मंसिर महिनामा क्युआर कोड स्क्यानबाट १ अर्ब २५ करोड ५५ लाख ७४ हजार रुपैयाँ कारोबार भएकोमा पुस महिनामा भने यस्तो रकममा १ अर्ब २४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।

कारोबार संख्याका हिसाबले गत साउन महिनामा १ लाख ९५ हजार १६, भदौ महिनामा १ लाख ७९ हजार १५०, असोज महिनामा २ लाख ६५ हजार १२५, कात्तिक महिनामा २ लाख ४१ हजार ८१८ वटा क्यूआर कोड स्क्यानबाट कारोबार भएको थियो ।

त्यसैगरी रकमका आधारमा हेर्दा साउन महिनामा ५८ करोड ९० लाख, भदौ महिनामा ६४ करोड ८० लाख, असोज महिनामा ९६ करोड ९० लाख, कात्तिक महिनामा ९३ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।


क्लिकमान्डु