सरकारले ३४ अर्ब वैदेशिक ऋण लिएपछि एक महिना शोधनान्तर बचत १८ अर्बले बढ्यो



काठमाण्डौं । चालु आर्थिक वर्षको पुस महिनासम्म देशको शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ । गत मंसिर महिनासम्म १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति एक महिनामा नै १८ अर्ब रुपैयाँ थप बचतमा गएको हो ।

सरकारले पुस महिनामा ३४ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण सहायता प्राप्त गर्दा शोधनान्तर स्थिति बचत बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

सरकारले मंसिर महिनासम्म ३१ अर्ब २३ करोड रुपैयाँ बैदेशिक ऋण सहायता प्राप्त गरेको थियो । पुस महिनामा आइपुग्दा यस्तो ऋण सहायता ६५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । पुस महिनामा रेमिट्यान्स र निर्यात समेत बढ्दा यसको सकारात्मक प्रभाव शोधान्नतर बचतमा परेको उनले बताए ।

सो अवधिमा १० अर्ब ९३ करोड रुपैयाँ सरकारले र २ अर्ब ७ करोड रुपैयाँ निजी क्षेत्रले बैदेशिक ऋण सहायता वापतको साँवा ब्याज भुक्तानी गरेको उनले बताए ।

 

अघिल्लो वर्षको पुस मसान्तसम्म शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

यसैगरी, समीक्षा अवधिमा चालु खाता ४९ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लोवर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ६५ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई ६ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई  ७ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु