केजीकै ५ लाखभन्दा बढी पर्ने यार्चागुम्बा जडिबुटीको निर्यात ३३ प्रतिशतले घट्यो



काठमाडौं । हिमाली क्षेत्रमा पाइने जडीबुटी ‘यार्चागुम्बा’को निर्यात ३२ प्रतशितले घटेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको अवधिमा गत वर्षको तुलनामा ३२.९४ प्रतिशत निर्यात घटेको हो ।

चालु आवको ६ महिनाको अवधिमा नेपालले ११ करोड ९ लाख रुपैयाँ बराबरको १८९ केजी यार्चागुम्बा विदेश निर्यात गरेको छ । साथै, गत वर्षको सोही अवधिमा नेपालले १६ करोड ५४ लाख मूल्य बराबरको २९४ केजी यार्चागुम्बा निर्यात गरेको थियो । जुन गत वर्षको तुलनामा ५ करोड ४५ लाख रुपैयाँले कमी हो ।

नेपालका हिमाली क्षेत्रबाट अनौपचारिक माध्यमबाटै चीन निर्यात हुँदै आएको यो जडिबुटी पछिल्लो समय औपचारिक माध्यमबाट हङकङ, भियतनाम, अमेरिका, कम्बोडिया र मलेसियामा निर्यात भइरहेको छ ।

चालु आवको ६ महिनाको अवधिमा सबैभन्दा बढी हङ्कङमा निर्यात भएको छ । हङकङले चालु आवमा ६ करोड ६३ लाख रुपैयाँ बराबरको १२१ केजी यार्चागुम्बा निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी, भियतनाममा १ करोड ८४ लाख बराबरको २५ केजी, अमेरिकामा १ करोड ५४ लाख रुपैयाँ बराबरको २६ केजी, कम्बोडियामा ५३ लाख १२ हजारको ८ केजी र मलेसियामा ५० लाख ३२ हजार मूल्य बराबरको ९ केजी यार्चागुम्बा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार नेपालबाट आर्थिक वर्ष २०७६/७७ मा २० करोड २२ लाख रुपैयाँ बराबरको ३५६ किलो यार्चागुम्बा निर्यात गरेको थियो । साथै, आव २०७५/७६ मा १७ करोड ९४ लाख रुपैयाँ बराबरको ३ सय ३४ केजी यार्चागुम्बा निर्यात भएको थियो ।


क्लिकमान्डु