पञ्चेश्वरको डिपिआरः २५ वर्षमा भएन प्रगति, ६ महिनामा सकिने ओलीको दावी



काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले आयोजना गरेको जनसभामा सरकारले गरेका केही कामको फेहरिस्त सुनाए ।

उनले सरकारलाई काम गर्न नदिइएको समेत बताए । तर, सरकारले यी यी काम गरेको समेत सुनाए । उनले ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको तथा दाना कुश्मा सवस्टेशनको समेत उद्घाटन भएको फेहरिस्त सुनाए ।

उनले भने ‘ माघ १९ गते देशको हालसम्मकै ठूलो सवस्टेशन समेत हामीले उद्घाटन गरेका छौ । ’ उनले पर्वतको दाना सवस्टेशन बिहिबार उद्घाटन गरेको बताए ।

उनी त्यत्तिमा मात्रै सिमित भएनन् महाकाली सन्धिअन्तर्गतको पञ्‍चेश्‍वर परियोजना समेत अगाडि बढ्ने दावी गरे ।

उनले आगामी ६ महिनाभित्र पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुने दावी गरे ।

झण्डै २५ वर्षदेखि अगाडि बढ्न नसकेको डिपिआरका विषयमा नेपाल र भारतकाबीचमा पछिल्ला दिनमा केही विषयमा सहमति भएपनि ठोस कुरामा सहमति हुन सकेको छैन ।

उनले भारतले महाकालीपारिका दोधारा र चाँदनी नगरपालिकालाई १० क्यूमेक्स पानी प्राप्त हुन लागेको बताए ।

पछिल्लो पटक नेपाल र भारतका ऊर्जा सचिवको  संयुक्त बैठकमा सो विषयमा भने सहमति भएको छ ।

तर पानी लैजानका लागि निर्माण हुने नहर कहिले र कसरी बन्ने हो भन्ने बारेमा उनले केही बताएनन् ।

महाकाली सन्धि गराउने प्रमुख भूमिका निर्वाह गरेका ओलीले पञ्‍चेश्‍वर आयोजना निर्माण भएपछि नेपाले वार्षिक ५७ अर्ब रुपैयाँ आम्दानी हुने बताएका थिए ।

सन्धी भएको ६ महिनामा तयार हुने भनिएको विस्तृत परियोजना प्रतिवेदन २५ वर्ष पूरा हुँदा समेत तयार भएको छैन ।

महाकाली सन्धि अनुसार महाकालीको पानी आधा भनिएपनि भारतले नेपाललाई पानी दिन अस्वीकार गर्दै आएको छ ।

भारतले २० हजार क्यूसेक पानी उपभोग गर्दा नेपालको भागमा मात्रै १ हजार क्यूसेक पानी मात्रै पाएको छ ।


क्लिकमान्डु