कुश्मा-दाना सवस्टेसनको उद्घाटन प्रधानमन्त्रीले बिहीबार गर्ने



काठमाडौं । माउन्टेन इनर्जीले प्रबर्द्धन गरेको मिस्त्री खोला जलविद्युत आयोजनाको राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण कार्य सम्पन्न भइ अन्तिम तयारीमा रहेको कम्पनीले उत्पादन गरेको विजुली अबको केही समयपछि प्रसारण लाइनमा जडान हुनेछ। भोलि (माघ २२गते) बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कुश्मा-दाना सवस्टेसनमा ४२ मेगावाट विद्युत केही समयपछि जडान हुनेछ ।

उद्घाटनको केही समयपछि आयोजनाबाट उत्पादित विद्युत २२० केभी क्षमताको कुश्मा–दाना सवस्टेनमा जोडिनेछ । आयोजनाबाट वार्षिक २३९ गिगावाट घण्टा उर्जा उत्पादन हुनेछ । १३२ केभी क्षमताको ४ किलोमिटर लामो प्रसारण लाइनमार्फत् कुश्मा–दाना सवस्टेसनमा जोडिने उक्त आयोजनाको विजुली लगानीका हिसाबले सस्तो हो ।

आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ९० लाख रुपैयाँ छ । निजी क्षेत्रले निर्माण सम्पन्न गरेका केही आयोजनाहरुमध्ये यो ठूलो आयोजना हो । नदी प्रवाहमा आधारित सो आयोजना निलगिरि र घल्याङदी नदीको पानीलाई प्रयोग गरी निर्माण गरिएको हो ।

आयोजनाको लगानीकर्तामा आईएमई ग्रुपका चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, डोलराज शर्मा, श्यामसुन्दर खेतान, महोनरदास डंगोललगायत छन् । कम्पनीको नुवाकोटमा आयोजना स्थल रहेको ५ मेगावाट क्षमताको तादी खोला (थाप्रेक) जलविद्युत आयोजना यसअघि नै निर्माण सम्पन्न गरिसकेको छ । त्यसैगरी कम्पनीले १२ मेगावाट क्षमताको मिस्त्री खोला–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


क्लिकमान्डु