पर्यटनमन्त्रीको प्रश्न- खोइ कहाँ छ सामाजिक दुरी, राजनीतिक दलका आमसभाले देखाइसक्यो



काठमाडौं । सरकारले विदेशी पर्यटकको संख्या बढाउनका लागि गृहकार्य शुरु गरेको छ । कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्नका लागि विदेशी पर्यटक बढाउनका लागि अनअराइभल भिसालाई खुकुलो बनाउने तयारी गरेको छ ।

पर्यटनमन्त्री भानुभक्त ढकालले यसका लागि प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको जानकारी दिए । त्यसका साथै ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट ल्याउनेहरुको हकमा पनि नेपालमा आएर परीक्षण गर्दा नेगेटिभ आए क्वारेन्टिनमा बस्न नपर्ने प्रस्ताव पनि लगिएको छ ।

त्यसका साथै यदि कुनै विदेशी पर्यटक खोप लगाएर आएको अवस्थामा क्वारेन्टिन बस्न नपर्ने र नेपालमा पीसीआर परीक्षण पनि गर्न नपर्ने प्रस्ताव गरिएको छ ।

‘खोप लगाएर आउनेको हकमा क्वारेन्टिन बस्न नपर्ने, पीसीआर रिपोर्टको ७२ घण्टाको समयलाई पनि घटाउनेलगायतका प्रस्ताव पेश गरिएको छ । अब मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ,’ मन्त्री ढकालले भने ।

त्यसैगरी कोही व्यक्ति क्रियापुत्रीका लागि आएको छ भने सोझै घर जान दिनेसम्मका निर्णय हुने उनले बताए ।

‘अब पहिलेको जस्तो समय छैन, सामाजिक दूरी कायम गर्न पनि अहिले त सत्तापक्ष र विपक्षका आमसभाले नै देखाइसकेको अवस्था छ । त्यसैले समय अनुसार नियम पनि परिमार्जन गर्नुपर्ने भएको छ ।

उनले पर्यटनमन्त्री भएर आएपछि महत्वाकांक्षी सपना नदेखेको बरु थिती बसाल्ने बताए ।

‘म बैशाख १७ र २७ गतेको निर्वाचनसम्मका लागि हो, त्यसैले अहिले नै महत्वाकांक्षी सपना देखाउँदिन । बरु भइरहेका कामलाई राम्रो बनाउने र थिती बसाल्ने छु,’ उनले भने ।

मन्त्री ढकालले यसबीचमा पोखरा र भैरहवास्थित विमानस्थलको काम पूरा गर्ने गरी आफूले काम अगाडि बढाउने समेत बताए ।

‘भैरहवास्थित विमानस्थलको काम अब सकिन लागेको छ । ९८ प्रतिशत काम सम्पन्न भइसकेको भने पछि अझै केही काम बाँकी छ । पोखरामा ७० प्रतिशत काम सकिएको छ । सम्भव भएसम्म मेरै कार्यकालमा पूरा हुनेछ,’ उनले भने ।

उनका अनुसार पोखरा विमानस्थल सञ्चालनका लागि रिठ्ठेपानी डाँडा कटानका लागि काम शुरु गर्नका लागि आफूले वनमन्त्रालयमा प्रस्ताव पठाइसकेको बताए । अप्रोचमा समस्या पर्ने भएकाले ४० मिटर डाँडा कटान गर्नुपर्ने देखिएको छ ।

पोखरामा भौगोलिक हिसाबले १६५ जनाभन्दा बढी यात्रु राखेर उडान र अवतरण गर्न नसक्ने अवस्था छ ।


क्लिकमान्डु