अर्ब बढी भ्याट छलीः राजश्व अनुसन्धान विभागले दायर गर्यो सरोजकुमार मिश्रसहित १० जनाविरुद्ध मुद्दा



काठमाडौं । विभिन्न व्यक्तिको नाममा नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी ठगी गरेको अभियोगमा प्रोकरस इन्टरेनशनका सरोजकुमार मिश्र विरुद्ध राजश्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली भ्याट बिल प्रयोग गरी फर्महरुको बैंक खाता सञ्चालन गर्ने मिश्रसहित १० जना विरुद्ध १ अर्ब चार करोड २४ लाख ९९ हजार ७२८ बराबरको बिगो दावी गर्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

नक्कली भयट बिल बनाउनेमा प्रोकरस इन्टरनेशनल, आर के एस इन्टरेनशनल प्रालि, अनन्या इन्टरनेशनल, इन्टरसिटी इन्टरनेशनल, ब्लुक्रस टे«डर्स, जेन सप्लायर्स, राज एण्ड किशोर इन्टरनेशनललगायत रहेका छन् ।

नक्कली भ्याट बिलको मुख्य कारोबार, तथा सबै फर्मका बैंक खाता सञ्चालक सरोजकुमार मिश्र, जयकिशोर साह, परमेश्वर साह रहेका छन् । उनीहरुले भ्याट तथा आयकर समेत चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले नक्कली भ्याट बिल बनाउने तथा सो कार्यमा सहयोग गर्ने विरुद्ध समेत मुद्दा दायर गरेको छ । आरोपीलाई बिगो अनुसारको कारवाहीसहित कैद सजयको समेत माग गरिएको छ ।

विभागका अनुसार मिश्रले मात्रै ९ वटा भ्याट नम्बर लिएको देखिन्छ । विभागले मिश्रविरुद्ध भ्याट तर्फ ३४ करोड ८ लाख ५४ हजार ४०४, आयकर तर्फ ६४ करोड ८९ लाख १८ हजार ८५ र लाभांशतर्फ ५ करोड २७ लाख २७ हजार १३९ बिगो कायम गरेको छ ।

यस्तै, उमाशंकर सहनीले २ वटा भ्याट नम्बर प्रयोग गरेको देखिन्छ । विभागले सहनी विरुद्ध भ्याटतर्फ ११ करोड ६३ लाख १९ हजार ६१२, आयकरतर्फ १९ करोड ५६ लाख ७७ हजार ८९५ र लाभांशकर तर्फ २ करोड ८६ लाख ६० हजार ६२४ बराबरको बिगो दावी गरेको छ । कूल गरी ३४ करोड ६ लाख ५८ हजार १३१ रहेको छ ।

यस्तै, सञ्जय भन्ने जयककिशोर साहको ४ वटा भ्याट नम्बर देखिएको छ । विभागले साह विरुद्ध भ्याटतर्फ १६ करोड ७५ लाख ३८ हजार ८८४, आयकरतर्फ ३० करोड ७६ लाख ७३ हजार ३१ र लाभांशतर्फ ३ करोड ४ लाख ६० हजार ९९५ बराबरको बिगो दावी गरेको छ । कूल गरी ५० करोड ५६ लाख ७२ हजार ९१० बिगो दावी गरिएको छ ।

परमेश्वर साहको विभिन्न ४ कम्पनीको नाममा ४ वटा भ्याट नम्बर प्रयोग भएको विभागको विवरणमा उल्लेख छ । विभागले साह विरुद्ध समेत ५० करोड ५६ लाख ७२ हजार ९१० बराबरको बिगो दावी गरेको छ ।

विभागले मतियारको रुपमा रहेका तोयानाथ अधिकारी विरुद्ध १४ करोड ३१ लाख ७७ हजार ८५२ बराबरको बिगो दावी गरेको छ । कोइराला विरुद्ध पनि अधिकारीकै बराबर बिगो दावी गरिएको छ ।

लेखा परिक्षक राउत विरुद्ध ८ करोड ७५ लाख ३ हजार ७४३ बराबरको बिगो दावी गरिएको विभागले जनाएको छ ।

लेखापरिक्षक इङनाम विरुद्ध ३२ करोड १० लाख ५८ हजार १३७, लेखा परिक्षक निरौला विरुद्ध ९ करोड ३६ लाख ६७ हजार ६३, कर सहयोगी घिमिरे विरुद्ध ५० करोड २२ लाख २८ हजार ९४३ र अर्का कर सहयोगी भट्टराई विरुद्ध पनि घिमिरेकै बराबर बिगो दावी गरिएको छ ।


पुष्प दुलाल