प्रभु क्यापिटलले सर्वसाधारणबाट १ अर्ब रुपैयाँ उठाएर राम्रा कम्पनीको सेयरमा लगानी गर्ने



काठमाडौं । प्रभु क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ ।

‘प्रभु सेलेक्ट फण्ड’ नाम दिइएको उक्त बन्दमूखी स्किमको प्रतिइकाई १० रुपैयाँका दरले कम्तिमा १०० कित्ता अर्थात् १००० रुपैयाँ किन्नुपर्ने हुन्छ । क्यापिटलले फण्ड म्यानेजर र डीपीको लाइसेन्स पाइसकेको छ ।

क्यापिटलले गत पुस १५ गते १ अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) निष्काशनका लागि आवेदन दिएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

साना लगानीकर्ताको पहुँच राम्रा र ठूला कम्पनीको सेयरसम्म पुर्याउनका लागि यो स्किम ल्याउन लागिएको प्रभु क्यापिटलका प्रवन्ध निर्देशक दिनेश थकालीले जानकारी दिए ।

‘धितोपत्र बोर्डले स्वीकृति दिनेवित्तिकै निष्काशन गर्छौं,’ थकालीले क्लिकमाण्डूसँग भने ।

यसरी सर्वसाधारणसँग उठाइएको रकम राम्रा कम्पनीको सेयरमा लगानी गर्ने योजना रहेको उनले जानकारी दिए ।

‘एकैपटक ३० वटाभन्दा बढी कम्पनीमा लगानी गर्दैनौं, राम्रो प्रतिफल आउने कम्पनीको सेयरमा मात्रै लगानी गर्ने सोच छ,’ थकालीले प्रष्ट पारे ।

प्रवन्ध निर्देशक थकाली

म्युचुअल फण्ड निष्काशन गर्नका लागि क्यापिटलले रेटिङ गराएको छ । रेटिङ ऐजेन्सी केयर नेपालले एमसी-३ रेटिङ दिएको छ ।

प्रभु क्यापिटलमा ५१ प्रतिशत सेयर स्वामित्व प्रभु बैंकको रहेको छ ।

प्रभु क्यापिटलले गत वर्षको असार मसान्तसम्ममा ७४ करोड ४० लाख रुपैयाँ विभिन्न क्षेत्रमा गरेर लगानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा २८० प्रतिशत बढी हो । १९ करोड ६० लाख रुपैयाँको लगानीलाई एक वर्षमा ह्वातै बढाएको हो ।

क्यापिटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड करोड लगानी गरेको छ । सम्बृद्धि क्यापिटललाई मर्ज गरेपछि प्रभु क्यापिटलको व्यवसायको दायरा झन बढेको हो ।

कोभिडको कारण भने गतवर्षको नाफा ८.२१ प्रतिशतले घटेको थियो । क्यापिटलको नाफा गत वर्ष ३ करोड ५६ लाख रुपैयाँ थियो भने अघिल्लो वर्ष ३ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने नाफा ह्वातै बढाउन प्रभु क्यापिटल सफल भएको छ । यो वर्षको पहिलो त्रैमासमा मात्रै ६ करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ । गत साउनदेखि दिनेश थकालीले क्यापिटलको नेतृत्व सम्हालेका थिए ।


पुष्प दुलाल