नेपालको ठूलो सौर्य ऊर्जा परियोजनाको काम सुरु, २२ अर्ब लगानीमा २५० मेगावाट उत्पादन हुने



काठमाडौं । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहित २५० मेगावाट क्षमताको विजुली उत्पादन हुने सौर्य ऊर्जा परियोजनाको निर्माण हुने भएको छ ।

सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभी बीच समझदारीपत्रमा मंगलबार हस्ताक्षर भयो ।

सम्झौता अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ ।

उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । मंगलबारको विनिमय दरमा यसको लगानी २२ अर्ब १७ करोड रुपैयाँ हुने छ ।

लगानी बोर्ड कार्यालयमा सम्पन्न सम्झौतामा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ कियायाङ हस्ताक्षर गरे ।

सम्झौता अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र विस्तृत योजना तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ ।

२०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।

उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।


क्लिकमान्डु