नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक, व्यापार सम्बन्धि सबै सूचना अब एकै ठाउँबाट



काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक गरेको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजना अन्तर्गतका व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी, संघ संस्था र सरकारी निकायहरूलाई व्यवसाय सम्बन्धि सम्पूर्ण सूचनाहरू सहज तथा सरल रुपमा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले उक्त पोर्टलको सार्वजनिक गरेको हो ।

पोर्टलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका हुन् । मन्त्री भट्टले पोर्टलको उद्घाटन गर्दै नयाँ प्रविधिको शुरुवातसँगै व्यवसायमा सहज वातावरण सिर्जना हुने बताए ।

उनले आयात निर्यात गर्ने क्रममा धेरै समस्या झेल्नु परेको समस्या उल्लेख गर्दै विभिन्न निकाय तथा संघसंस्थाले समस्या सँगसँगै समाधानको उपाय ल्याएमा सरकारले सहजीकरण गर्ने काममा सहयोग गर्ने बताए ।

मन्त्री भट्टले विदेशीने युवालाई स्वदेशमै रोजगारी दिलाउने र स्वदेशमै रोजगारी दिई प्रोत्साहन गर्ने कार्यमा अघि बढ्नुपर्ने बताए । साथै, आन्तरिक लगानीलाई कसरी केन्द्रिकृत गर्ने र कसरी विश्वास दिलाउने भन्ने विषयमा विशेष ध्यानमा राखी सोही अनुरुपको निर्यातमा जोड दिनुपर्ने उनको भनाइ छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयात निर्यातमा आयातभन्दा निर्यात धेरै गुणा ठूलो भएकाले आगामी दिनमा निर्यात नबढाए व्यापार घाटा चुलिने बताए ।

यस्तै, निर्यातको समयमा जाँचपासलगायत अन्य विभिन्न कार्यले गर्दा अझै सहज हुन नसकेको उनले गुनासो गरे । विश्व बजारमा निर्यात निकै कम भएकाले आयातको लागि मात्रै खुल्ला गरेको होकी भन्ने अवस्था आएको उनले जनाए ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल ट्रेड इन्फर्मेशन पोर्टलले इ–कमर्समा ठूलो मद्दत पुग्ने बताए । तर, यसका लागि अनुगमन गर्ने निकायको आवश्यक रहेको उनको धारणा छ । जसमा कुनै पनि वस्तु निर्यात अर्थात आयात गर्दा गुणस्तर छ वा छैन् भन्ने विषयमा अध्ययन गर्न सहज हुने उनले दाबी गरे ।

पोर्टलमा यस्तो छ सुविधा ?
यस पोर्टलमा भएका विशेषताहरु पोर्टलको बेभसाईट nepaltradeportal.gov.np तथा एनटीआईपी मोबाइल एपबाट सहज रुपमा सेवाग्राहीहरुले प्रयोग गर्न सकिनेछ ।

पोर्टलबाट व्यापार व्यावसाय गर्न चाहनेहरुलाई अपनाउनु पर्ने विधि प्रक्रियाबारे जानकारी प्रवाह हुनेछ । साथै, विश्वको कुनै पनि कुनामा बस्ने सेवाग्राहीहरुले नेपाली निर्यात योग्य वस्तुहरुको माग र पोर्टलमा प्रविष्ट भएका वस्तु एवं व्यवसायिक प्रोफाइल सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

यसबाट नीति निर्माता, सरकारी एवं निजी क्षेत्र तथा वाणिज्य क्षेत्रको अध्ययन एवं अध्यापन गर्नेलाई सहयोग पुग्नेछ । नेपालको निर्यात व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारीहरुलाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्नका उक्त पोर्टलेको शुरुवात भएको लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

डब्लुटीओको ट्रेड फ्यासिलेटेशन याक्टको आर्टिकल १ र २ मा सूचनाको पारदर्शिता उल्लेख भए बमोजिम यसमा समावेश गरिएको केन्द्रको भनाइ छ ।

यस पोर्टलमा निर्यात व्यापारसँग सम्बन्धित व्यवसाय शुरु गर्नको लागि साधारण सूचना देखि निर्यातको लागि वस्तु बजार, त्यसका लागि आवश्यक पर्ने नीति नियम प्राबधान, निर्यातकर्ताहरु एवं सेवा प्रदायकहरुको विवरण, निर्यातयोग्य वस्तुहरुको विवरणका साथै व्यापारसंग सम्बन्धित सूचनाहरु, नेपालको वैदेशिक व्यापारका करिब एक दशक अघिदेखिको तथ्याङ्क समावेश गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगलले जानकारी दिए ।

साथै, निर्यातकर्ताहरुले निर्यात गरिएका वस्तुहरुको विवरण, निर्यात योग्य वस्तुहरुको विवरण, सेवाप्रदायकाको विवरण आफै पोर्टलमा प्रविष्ट गर्ने व्यवस्था समेत रहेकोले भविष्यमा व्यापार अभिवृद्धिमा सहयोग पुग्ने उनको विश्वास छ । त्यससँगै, पोर्टलबाट व्यापारसँग सम्बन्धित विषयहरुको प्रचारप्रसार तथा बजारीकरणको लागि समेत कार्य गर्ने उनले बताए ।


क्लिकमान्डु