भन्सार चुहावट नियन्त्रणका लागि निजी क्षेत्रको सहयोग आवश्यकः अर्थमन्त्री पाैडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पोडेलले भन्सार विभागको चुहावट नियन्त्रणका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् । ६९औं विश्व भन्सार विभागको वार्षिकोत्सवमा बौल्दै विभाग र निजी क्षेत्रले एक अर्कासँग सहयोग गरी चुहावट नियन्त्रण गर्नुपर्ने बताए ।

अर्थमन्त्री पौडेलले भन्सार विभाग र निजी क्षेत्र एउटा सिक्काको दुई वटा पाटा हुन् भन्दै एउटा हेर्दा अर्को पाटो नदेख्ने समस्या रहेको बताए । साथै, यस समस्या समाधानका लागि बेलाबेलामा पल्टाएर हेर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘निजी क्षेत्रले भोगिरहेको समस्या के हुन् र भन्सार प्रणालीमा विद्यमान समस्या के हो त्यसमा पनि ध्यान दिनुपर्छ,’ मन्त्री पौडेलले भने, ‘भन्सार र निजी क्षेत्रको सम्बन्धलाई जीवन्त बनाउन दुबैको भूमिका बराबर हुनुपर्छ ।’

साथै, व्यवसायीको जायज समस्यालाई ठीक ढङ्गबाट समाधान गर्नका लागि भन्सार विभाग सहयोगको भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा उनले कोभिडलाई नियन्त्रण गर्नको लागि सरकारले निशुल्क खोप प्रदान गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तयारी वस्तु र कच्चा पदार्थमा डब्लुटीओको नियमअनुसार दुई तहबाट व्यवस्थापन गर्नुपर्ने बताए । उनका अनुसार अहिले निर्यातको जाँचपासमा निकै समस्या भएकाले यसमा पनि सहज बनाउनुपर्ने बताए ।

‘हाल भन्सार पासमा करिब ११ घण्टा समय खर्चनुपर्ने समस्या छ,’ उनले भने, ‘यस समस्यालाई समाधान गरी व्यवसायीलाई सहज बनाउनुपर्छ ।’ साथै, करिब एक वर्षदेखि बन्द भएको उत्तरी नाका खुलाउन निकै आवश्यक रहेको बताए ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले हाल एकद्वार प्रणालीको सञ्चालन भएजस्तै ई–पेमेन्ट प्रणाली पनि छिट्टै ल्याउनुपर्ने माग गरे । साथै, करलाई १३ प्रतिशतबाट १० प्रतिशत र आयकर पनि घटाउनुपर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आयात तथा निर्यातमा सहज बनाउनको लागि विभिन्न कार्य तथा छलफल भएको बताए । साथै, उत्तरी नाका खोल्नको लागि पनि विशेष छलफल भइरहेको उनको भनाइ छ । त्यस्तै, मन्त्रालयले भैरहवा र वीरगञ्ज एकीकृत जाँच चौकी बनाउनको लागि भारतसँग छलफल भई कार्य अगाडि बढाउने जानकारी दिए ।


क्लिकमान्डु