१० थप बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन



काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ ।

ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, संग्र्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हालै कनेक्ट आरटीजीएस प्रणालीमा थपिएका छन् । यसअघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्ट आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ ।

आरटीजीएस प्रणाली मार्फत् ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानी को लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्ट आरटीजीएस आरटीजीएस प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गरिएको छ ।

आरटीजीएस प्रणालीको पहुच सँगै विधुतिय कारोबारको आकर पनि उल्लेखय बृद्घी हुने अपेक्षा गरिएको छ ।


पुष्प दुलाल