आजदेखि ‘टी प्लस टू’ कार्यान्वयन, लगानीकर्ता र राफसाफ सदस्यले के-के गर्ने ?
काठमाडौं । आज (आइतबार)देखी टी प्लस टू कार्यान्वयनमा आएको छ । यो व्यवस्था लागुभएसँगै अब सेयर कारोबार भएको दिन बाहेक दुई कार्य दिन ‘टी प्लस टू’ मा कारोबार राफसाफ हुने छ ।
सिडिएससीले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट संशोधित विनियमावलीअनुसार कारोबार भएको दिन बाहेक दुई कार्य दिन ‘टी प्लस टू’ मा कारोबारको राफसाफ हुने व्यवस्था गरेको छ ।
धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिएसँगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पूँजी बजार थप चलायमान हुने र लगानीकर्ताहरुलाई थप लाभ मिल्ने सबैको अपेक्षा रहेको छ ।
सिडिएससीले आजैबाट टि प्लस टू कार्यान्वयन गरेपनि धितोपत्रको बिक्री गर्ने लगानीकर्ताले आफूले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फछ्र्यौटका लागि इडिआईएस जारी गर्दा टी प्लस वान अर्थात् कारोबार भएको मितिको भोलिपल्ट नै जारी गरिसक्न भनेको छ । इडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले टी प्लस वान भित्र भौतिक निर्देशन पूर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउन आग्रह पनि गरेको छ ।
धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र बापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई टी प्लस वान अर्थात कारोबार भएको मितिको भोलिपट नै बुझाउन भनेको पनि भनेको छ ।
यस्तै सिडिएससीले राफसाफ सदस्यलाई सम्पूर्ण बिक्री कारोबारको पूँजीगत लाभकर गणनाका लागि आवश्यक डब्लूएसीसी सम्बन्धी विवरण बिक्रीकर्ताले लगानीकर्ता बाट प्राप्त गरि टी प्लस टू को बिहान ११ बजे भित्र राफसाफ तथा फछ्र्यौट प्रणालीमा प्रविष्टि गर्न भनेको छ ।
धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरी कुनै बिक्रीकर्ताले निर्धारित समयावधि भित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा टी प्लस टूको मध्यान्न १२ बजे भित्र सो बिक्रीकर्ताको बिक्री कारोबारको सर्टेज मार्क गरिसक्नु पर्ने छ ।
धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री तथा खरिद कारोबारको गणना गरी उक्त नेटिङ्ग पछि हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा टी प्लस टूको मध्यान्न १२ बजेभित्र आफ्नो राफसाफ बैंकमा रहेको राफसाफ खातामा जम्मा गरिसक्नु पर्ने छ ।
धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले राफसाफ भैसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा टी प्लस टूमा राफसाफ तथा फछ्र्यौट सकेपछि राफसाफ तथा फछ्र्यौट प्रणाली हस्तान्तरण गर्न भनेको छ ।
यस्तै निक्षेप सदस्यलाई सिडिएससीले हरेक दिन बिहान ११ बजे भित्रमा मेरो सेयर मार्फत प्राप्त इडीआईएसको फाईल जेनेरेट गरि केन्द्रीय निक्षेप प्रणालीमा अपलोड गर्नुपर्ने छ । त्यो कारोबार सफल भएको यकिन गरि मेरो सेयरमा इडीआईएस फाईल प्रोसेस गर्न भनेको छ ।
ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले प्रदान गरेको भौतिक निर्देशन पूर्जी तत्काल प्रणालीमा प्रविष्टि गरि त्यसको जानकारी सम्बन्धित लगानीकर्तालाई गराउन आग्रह गरेको छ ।
राफसाफ बैंकले हरेक दिन राफसाफ तथा फछ्र्यौट प्रणालीमा प्राप्त निर्देशन बमोजिम राफसाफ सदस्यको पुल खाताहरू, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरूमा आवश्यक रकम डेबिट वा क्रेडिट गरि त्यसको जानकारी प्रणालीमा प्रविष्टि गर्नु पर्ने छ ।
परिमार्जित चक्रअनुसार धितोपत्रको राफसाफ तथा फछ्र्यौट कार्य निर्धारित समयावधि भित्र सम्पन्न गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूले आ–आफ्नो दायित्व पुरा गरि राफसाफ प्रक्रिया सम्पन्न गर्न समेत आग्रह गरेको छ ।