कृषि विकास बैंकमा ४४६ पदका लागि जागिर खुल्यो, सीइओ भन्छन्- सोर्सफोर्स लाग्दैन



काठमाडौं । कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले बढुवा, आन्तरिक र खुला गरी कुल ४४६ पदमा जागिर खुलाएको हो ।

बढुवाका लागि ९० जना, आन्तरिक प्रतिष्र्धाबाट ३० जना र खुलामा ३२६ जनाका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको छ ।

बैंकले विभिन्न पदमा खुलातर्फ १८१ जना, महिलातर्फ ५२, आदिवासी जनजातीतर्फ ३७ जना, मधेसी ३० जना, दलित १३ जना, अपांगतर्फ ६ जना र पिछडिएको क्षेत्रतर्फ ७ जनाका लागि विज्ञापन खुलाएको हो ।

बैंकले लेखापालदेखि वरिष्ठ शाखाप्रमुखसम्मका लागि खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको हो ।

त्यसैगरी बढुवातर्फ विभागीय प्रमुखमा ३ जना, शाखा प्रमु्खमा ४२ जना, शाखा अधिकृतमा २२ जना र कार्यालय सहायकमा २३ जनाका लागि खुलाएको छ ।

त्यस्तै, आन्तरिक प्रतिष्पर्धातर्फ विभागीय प्रमुखमा १ जना, शाखा प्रमुखमा ११ जना, शाखा अधिकृतमा ७ जना र कार्यालय सहायकतर्फ ११ जनाका लागि विज्ञापन खुलाएको छ ।

इच्छुक आवेदकले माघ ९ गतेदेखि २९ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

कर्मचारीको संख्या कम भएकाले नयाँ कर्मचारी भर्ना गर्न लागिएको बैंकको सीइओ अनिल उपाध्यायले जानकारी दिए ।

‘दरबन्दी अनुसार पनि बैंकमा कर्मचारी छैनन्, दक्ष जनशिक्तको अभावमा बैंक प्रतिस्पर्धी बन्न सक्दैन र उल्लेख्य प्रगति पनि गर्न सक्दैन,’ सीइओ उपाध्यायले क्लिकमाण्डूसँग भने, ‘त्यसैले नयाँ कर्मचारी माग गरेका हौं ।’

यो बैंक कृषि क्षेत्रको नेतृत्व गर्ने रणनीति अनुसार अघि बढिरहेको छ । सरकारी लगानी रहेकाले यो बैंकको जागिरमा आकर्षण छ ।

‘सरकारी लगानीको भएकाले कृषि विकास बैंकको परीक्षा लोकसेवा आयोगले लिन्छ,’ उपाध्यायले भने, ‘कसैलाई सोर्सफोर्स लाग्ला कि भन्ने लागेको छ भने त्यो पूर्ण भ्रम हो ।’ 


पुष्प दुलाल