घटाउँदा पनि पुगेन लक्ष्य, विराटनगर भन्सारले ६ महिनामा उठायो १८ अर्ब राजस्व



काठमाडौं । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल १८ अर्ब ३ करोड २६ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सो अवधिमा भन्सारले २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले लक्ष्यमा ५ अर्ब तीन करोड ५७ लाख ४५ हजार कम संकलन गरी समग्रमा ७८ दशमलव १७ प्रतिशत प्रगति गरेको जनाएको छ ।

गएको वर्षमा सो अवधिमा २६ अर्ब पाँच लाख ८५ हजार राजश्व संकलन गर्ने लक्ष्यमा १५ अर्ब ८५ करोड ६१ लाख १५ राजश्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यमा९ अर्ब ८१ करोड २८ लाख ३६ हजार राजश्व कम संकलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।

चालु आवमा गएको वर्षमा सो अवधिमा संकलित राजश्वभन्दा २ अर्ब १७ करोड ६५ लाख ६ हजारले बढी राजश्व सङ्कलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए । उनले गएको वर्षभन्दा यस वर्ष सो अवधिमा विभागले विभिन्न शीर्षकमा कूल २ अर्ब ६० करोड पाँच लाख ८५ हजार कम गरेर साउनदेखि पुससम्मको रु २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार लक्ष्य दिएको जानकारी दिए ।

कोरोनाको महामारीका कारण आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजश्व पनि प्रभावित भएकाले लक्ष्यअनुसार राजश्व संकलन नभएको भन्सार प्रमुख शिवकुमार भण्डारीले जानकारी दिए ।

उनले विगतमा सो अवधिमा राजश्व संकलन गर्ने लक्ष्यको चालु आवमा लक्ष्य घटाए पनि प्रगति हासिल गर्न नसक्नुको प्रमुख कारण कोरोनाको महामारीले व्यपार व्यवसायमा आएको प्रभाव नै भएको बताए ।

कार्यालयले चालु आवको साउनमा २ अर्ब २४ करोड ५६ लाख १४ हजार, भदौमा २ अर्ब ५६ करोड ९६ लाख ९८ हजार, असोजमा ३ अर्ब ३४ करोड चार लाख ४१ हजार, कात्तिकमा ३ अर्ब चार करोड ४२ हजार, मङ्सिरमा ३ अर्ब १३ करोड ४० लाख ४२ हजार र पुसमा ३ अर्ब ७० करोड २७ लाख ४२ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयले साउनमा १०२ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरे पनि त्यसपछिका महिनामा क्रमशः ७९ दशमलव ५२, ७२ दशमलव ७०, ८३ दशमलव नौ, ६५ दशमलव ८३ र पुसमा ७९ दशमलव ८६ प्रतिशत प्रगति गरेको जनाएको छ ।


पुष्प दुलाल