कोरोनाले थलिएको बजारमा सुनको माग बढ्यो, ६ महिनामा १७०० सय केजी आयात



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्ममा सुन आयात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार करिब ६ महिनाको अवधिमा गत वर्षको तुलनामा २ सय ५० केजी बढी सुन आयात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा नेपालले ७ अर्ब ८८ करोड १६ लाख रुपैयाँ बराबरको १४ सय ५० केजी सुन आयात भएको थियो । तर, चालु आवको सोही अवधिमा १२ अर्ब १६ करोड ७ लाख रुपैयाँ बराबरको १७ सय केजी सुन आयात भएको छ । जुन गत वर्षको तुलनामा ४ अर्ब २७ करोड ९१ लाख रुपैयाँ बराबर अर्थात् २ सय ५० केजी बढी आयात भएको छ ।

बजारमा सुनको मूल्य अत्यधिक बढिरहेको अवस्थामा सुन आयात भने अस्वभाविकरुपमा बढेको छ । एकातिर कोरोनाले गर्दा लामो समयसम्मको बन्दाबन्दीले आर्थिक संकट खेपिरहेको अवस्थामा कारोबार कम भएको व्यवसायीहरूले बताएका छन् भने अर्कोतर्फ सुनको आयात बढेकोले माग बढेकै हो त भन्ने प्रश्न उब्जिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले लामो समयसम्म कारोबार रोकिएको हुनाले बजार खुल्ला भएसँगै आयात बढेको हुन सक्ने बताए ।

उनका अनुसार चैतबाट साउनसम्ममा अधिकांश व्यापार व्यवसाय बन्द भएको थियो । यसले गर्दा साउन यता सहज बन्दै गएको हुनाले सुनको मागसँगै आयात बढेको बताए ।

गत वर्ष तीज, दशैं, मंसिरमा खासै व्यापार नभएकाले हुनाले खपत हुन सकेको थिएन । तर, चालु आवमा सामान्य अवस्था भएसँगै दशैं, तिहार र मंसिरमा व्यापार राम्रो भएकाले सुन आयात बढी भएको उनको बुझाइ छ ।

त्यसैगरी, कोरोनाको समयमै अप्रत्यासित रुपमा सुनको मूल्यमा वृद्धि भएकाले पछिको समयमा मूल्य घट्दै जाँदा सुन जोडेर राख्नेको संख्या बढ्दै गएको उनको अनुमान छ ।

‘चैतदेखि असार अन्तिसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो । अहिले भाउ घटेर ९१ हजारको रेञ्जमा आएको छ, यसले गर्दा माग बढेको हुन सक्छ,’ उनले भने ।

त्यस्तै लामो समयसम्म बिहेलगायत अन्य सम्पूर्ण कार्य रोकेको हुनाले साउनयता बिहे गर्न थालेको र कोरोनको डर हटेपछि सुनको माग बढ्न थालेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य बताउँछन् ।

बजारलाई हेरेर सुन आयात भएन- पूर्व अध्यक्ष
कोरोनाको समयमा पनि बैंकहरूले अत्याधिक मात्रामा सुन आयात गरेर बिक्री भएन भनेर गुनासो गरे । तर, आवश्यक भएको बेलामा व्यवसायीलाई पर्याप्त सुन प्रदान गर्न नसकेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । त्यसैले बजारको आवश्यक र माग अनुसार बैंकहरूले बजारमा सुन आयात गर्नुपर्ने उनले बताए ।

‘लकडाउनको समयमा बैंकहरूले धेरै सुन आयात गर्यो । लकडाउनाको समयमा बिक्री भएन भन्दै व्यवसायीलाई दोष ठहरायो । तर, आवश्यक भएको समयमा विगतको दिनमा आयात भएको सुन बैंकहरूले ३÷४ दिनको अन्तर देखाएर सबै सक्यो भनेर भन्यो,’ उनले भने ।

आयातित सुन बजारलाई आवश्यक भएर बजार लक्षित सुन आयात नभएको उनको ठम्याइ छ । लकडाउनमा जति पनि आयातित सुन व्यापारी माझ आउन नसक्दा बोर्डर पारी बेचेको व्यवसायीहरूको भनाइ छ ।

साथै, बैंकहरूले आयात गरेको सुन कहाँ, कति र कहिले बिक्री गर्यो भन्नेबारे राष्ट्र बैंकले अनुगमन गर्नुपर्ने उनीहरू बताउँछन् । महासंघमा सुन आयात भएको कुनै पनि तथ्याङ्क नहुँदा व्यवसायीलाई आवश्यक परेको समयमा सुनको व्यवस्था गर्न नसक्दा निकै समस्या भोगिरहेको पूर्वअध्यक्ष शाक्यले बताए ।

त्यसैगरी, गत वर्ष नेपाल राष्ट्र बैंकले २० केजीको कोटा तोकेको थियो । तर, कोरोना महामारीका कारण लामो समयसम्म ठप्प भएको व्यवस्थामा २० केजीबाट झारेर दैनिक १० केजी कोटा तोकेको छ । यस अवधिमा बजार सामान्य अवस्थामा फर्किँदै गरेकाले कोटा बढाउनु पर्ने महासंघले माग गर्दै आएको छ ।


क्लिकमान्डु