सामान्य अवस्थामा फर्किन थाल्यो आयात, पुसमा मात्रै १ खर्ब ३५ अर्बको आयात



काठमाडौं । चालु आर्थिक २०७७/७८ को पुस मसान्तसम्मको तथ्याङ्क अनुसार आयात सामान्य अवस्थामा फर्किन थालेको छ । कोरोना भाइरस महामारीले उद्योगधन्दा बन्द भएकाले निकै प्रभावित भएको आयात निर्यात अहिले भने सामान्य अवस्थामा फर्किन थालेको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार पुस महिनामा १ खर्ब ३५ अर्ब ७४ लाख ७२ हजारको वस्तु तथा सेवा आयात भएको छ । तर, गत आवको सोही अवधिमा १ खर्ब १३ अर्ब ४३ करोड ६६ लाख रुपैयाँको मात्रै वस्तु तथा सेवा आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा २२ करोड ३१ लाख रुपैयाँ बराबरले बढी हो ।

पुस महिनामा आयात बढेपनि ६ महिनाको तथ्यांकमा भने अघिल्लो वर्षको भन्दा ४.८१ प्रतिशतले आयात घटेको छ । साउनदेखि पुस मसान्तसम्ममा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ४६ करोड ३७ लाख वस्तु तथा सेवा आयात भएको थियो । जुन यो वर्षको तुलनामा ४ प्रतिशतले कमी हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा ६.१४ प्रतिशतले निर्यात बढेको छ । उक्त तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९२ लाख वस्तु तथा सेवा निर्यात भएको छ । साथै, गत वर्षको सोही अवधिमा ५७ अर्ब २७ करोड ९७ लाख वस्तु निर्यात भएको थियो ।

त्यस्तै, ६ महिनासम्मको अवधिमा वैदेशिक व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । जुन गत वर्षको तुलनामा ५.८० प्रतिशत कम घाटा व्यहोरेको तथ्याङ्कले उल्लेख गरेको छ ।

विभागको तथ्याङ्क अनुसार कुल वैदेशिक व्यापारमा पनि कमी आएको छ । गत आवको पुस मसान्तसम्ममा ७ खर्ब ५१ अर्ब ९७ करोड ३४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । साथै, चालु आवको सोही अवधिमा ७ खर्ब २२ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन गत वर्षको तुलनामा ३.९८ प्रतिशतले कमी हो ।

चालु आवमा गत वर्षको तुलनामा आयात निर्यातमा पनि १०.३२ प्रतिशतको अनुपातमा कम रहेको विभागले जनाएको छ ।


क्लिकमान्डु