तीन दिनमा १७ जना व्यवसायी र उद्योग वाणिज्य विभागको कारबाहीमा



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दैनिक अनुगमनबाट तीन दिनमा १७ जना व्यवसायी तथा उद्योग कारबाहीमा परेका छन् ।

पछिल्लो समय निर्माण सामाग्री र तेलमा अत्याधिक मूल्य बढाएको गुनासो आएसँगै विभागले उक्त व्यवसायी र उद्योगलक्षित अनुगमन गर्दा १७ जना कारबाही परेको हो ।

आइतबारदेखि मंगलबारसम्म ४९ वटा स्टोर तथा उद्योग अनुगमन गरेको थियो । जसमा १७ जना व्यवसायीले ऐन विपरित कारोबार गरेकोले विभागले ७ लाख ७० हजार जरिवाना गरेको छ ।

साताको पहिलो दिन आइतबारमा विभिन्न स्थानमा अनुगमन गर्दा ४ जना व्यवसायीलाई कारबाहीको दायरामा ल्याई ४० हजार जरिवाना गरेको छ ।

विभागले उक्त दिन अनुगमन गर्दा निर्माण व्यवसायी बसल देबी ट्रेडर्सलाई ५ हजार, हार्डवेयर व्यवसायी भैसीपाटी प्रालिलाई १५ हजार, शुभ कार्य सपिङ सेन्टर प्रालिलाई १० हजार र बन्जल खाद्य स्टोरलाई १० हजार जरिवाना गरेको छ ।

त्यसैगरी सोमबार तीन वटा फर्निचर र दुई खाद्यान्न पसलको व्यवसायीलाई ऐन विपरित काम गरेको भन्दै प्रत्येक व्यवसायीलाई कारबाही गरी ४५ हजार जरिवाना गरेको छ ।

मंगलबार भने खाने तेलको मूल्य बढाएको भन्दै ठूला दुई उद्योगलाई कारबाही गरेको छ । जसमा विभागले महालक्ष्मी सोल्भेट एण्ड रिफाइनरी प्रालि र अन्नपूर्ण भेजिटेबल प्रालिलाई ३/३ लाख जरिवाना गरेको छ । साथै अन्य मछिन्द्र तेल मिललाई पनि ५ हवार जरिवाना गरिएको थियो ।

सोही दिन विभागले अन्य तीन वटा निर्माण सामग्री व्यवसायीलाई र दुई जना खाद्यान्न बिक्री गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको छ । उक्त दिन विभागले ६ लाख ८५ हजार जरिवाना शुल्क उठाएको छ ।

विभागले अनुगमनको क्रममा खाना अयोग्य वा म्याद सकिएकोले ३० हजार ६ सय रुपैयाँ बराबरको खाद्यान्न तथा वस्तु नष्ट गर्न लगाइएको छ ।


पुष्प दुलाल