तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ मा एक अर्ब खर्च



तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गत करिब रु एक अर्ब खर्च भएको छ । सो प्याकेजअन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ ।

उक्त प्याकेजअन्तर्गत सिनोले सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले सिनो हाइड्रोसँग रु ११ करोड ४१ लाख ८९ हजार र रु तीन अर्ब ८३ करोड १४ लाख ९मूल्य अभिवृद्धि करबाहेक०मा खरिद सम्झौता गरेको थियो ।

सोअनुसार हालसम्म रु दुई करोड ३१ लाख र रु ९५ करोड खर्च भएको जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । उनका अनुसार विदेशी मुद्रातर्फ २०.२३ प्रतिशत र नेपाली मुद्रातर्फ २५ प्रतिशत रकम खर्च भएको छ । सो प्याकेजअन्तर्गतको कामका लागि तनहुँ हाइड्रोले सन् २०१८ अक्टोबरमा सिनोसँग सम्झौता गरेको थियो । उक्त सम्झौताको म्याद सन् २०२४ सेप्टेम्बर २९ सम्म रहेको छ ।

त्यस्तै प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रसारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ । यस प्याकेजमा विदेशी मुद्रातर्फ रु ३५ लाख र नेपाली मुद्रातर्फ दुई करोड ७५ लाख खर्च भएको आयोजनाले जनाएको छ ।

प्याकेज ३ अन्तर्गतको कामका लागि केइसिसँग सन् २०१८ डिसेम्बर २५ मा सम्झौता भएको थियो भने सम्झौताको म्याद सन् २०२१ मार्च २० सम्म रहेको छ । यसका लागि हाइड्रोले रु छ करोड र रु २१ करोड (मूल्य अभिवृद्धि करबाहेक) सम्झौता गरेको थियो । त्यसबमोजिम विदेशी मुद्रातर्फ ५२ प्रतिशत र नेपालीतर्फ १२।६१ प्रतिशत रकम खर्च भएको छ ।

प्याकेज १ अन्तर्गतको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माणका लागि नियुक्त ठेकेदारसँगको ठेक्का रद्द गरी पुनः दुई पटक बोलपत्र आह्वान गर्नुपरेकाले ढिलाइ भएको र हाल ठेकेदार नियुक्तिको क्रममा रहेको आयोजना प्रमुख घिमिरेले जानकारी दिए ।

आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ । आयोजना प्रमुख घिमिरेले ६० कित्ताका जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेको जानकारी दिए।

‘टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ, जग्गा प्राप्तिका लागि सूचना प्रकाशित भइसकेको छ,’ घिमिरेले भने ।

घिमिरेका अनुसार जग्गाको रकम निर्धारणका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले अध्ययन शुरु गरेको छ ।

‘स्थानीय तह, मालपोत कार्यालय, सम्बन्धित क्षेत्रमा रहेका बैंकसँग जग्गाको चलनचल्तीको दररेट बुझ्ने काम भइरहेको छ,’ उनले भने ‘अध्ययन सकेपछि प्रतिवेदन मूल समितिसमक्ष पेश गर्नेछ ।’

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले प्रतिवेदन अध्ययन गरेर जग्गाको मुआब्जा निर्धारण गर्नेछ ।

आयोजनाको प्रसारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइने घिमिरेले बताउनुभयो । घिमिरेले भने ‘क्षतिपूर्ति तिर्ने जग्गा सम्बन्धित व्यक्तिको हुन्छ, उक्त जग्गामा संरचना निर्माण गर्न भने पाइने छैन ।’

प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । तनहुँतर्फ ३० हेक्टर वन क्षेत्रका रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आवमा प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिने छन् ।

आयोजनाको प्याकेज २ अन्तर्गतको विद्युत्गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत्गृहको काम भइरहेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत० रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्ने छ ।


पुष्प दुलाल