कोभिड १९ ले ३ खर्ब २२ अर्बको क्षति, पुनरुत्थानको लागि ६ खर्ब ६५ अर्ब लाग्ने



काठमाडौं । कोभिड १९ को कारण नेपाली अर्थततन्त्रमा ३ खर्ब २२ अर्ब रुपैयाँको क्षति भएको पाइएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कंडेलले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा कुल उत्पादनमा ३ खर्ब २२ अर्ब रुपैयाँ क्षति भएको प्रतिवेदन पेश गरे ।

कृषि क्षेत्रमा १२ अर्ब रुपैयाँ र गैर कृषि क्षेत्रमा ३ खर्ब १० अर्ब रुपैयाँको क्षति भएको प्रतिवेदन आयोगले तयार पारेको छ ।

गतवर्ष कोरोनाको कारण नेपालको आर्थिक बृद्धिदर ऋणात्मक हुनबाट जोगिएको छ । ०.६ प्रतिशतमात्र आर्थिक बृद्धिदर गतवर्ष भएको योजना आयोगले संसोधित अनुमान गरेको छ । यसअघि चैतमा केन्द्रिय तथ्यांक विभागले कोरोना भाइरसको कारण आर्थिक बृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको थियो ।

कोरोना भाइरसको कारण भएको क्षतिलाई पुनरुत्थानको लागि ६ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान आयोगले गरेको छ ।

आयोगले अल्पकालिन अवधीको लागि २ खर्ब ४२ अर्ब रुपैयाँ,मध्यकालिनको लागि २ खर्ब ८७ अर्ब,दीर्घकालको लागि १ खर्ब ३५ अर्ब लाग्ने अनुमान गरेको छ ।

अल्पकालिन अवधीको लागि सबैभन्दा बढी संक्रमण नियन्त्रणको लागि गर्नु पर्ने बताएको छ । यसको लागि २ खर्ब ११ अर्ब लाग्ने छ ।


क्लिकमान्डु