हातहातमा सरकारी सेवा पुर्याउन सरकारले ल्यायो ‘नागरिक एप’, यी काम गर्न पाइन्छ



काठमाडौं । सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । शुक्रबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नागरिक एप सार्वजनिक गरे ।

कार्यक्रममा भिडियो सन्देशबाट बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एकैठाउँबाट सबै सरकारी सेवाका लागि एप शुरु गरिएको बताए । उनले सवारी कर, लाइसेन्स, नवीरकण, लोकसेवालगायतका सेवा पनि मोबाइल एपबाटै सकिने बताए ।

जनतालाई सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत नागरिक एप सार्वजनिक गरिएको मन्त्रालय सचिव हरिप्रसाद बस्यालले जानकारी दिए ।

‘जनताको हातहातमा सरकारी सेवा पुर्याउने उद्देश्यसहित नागरिक एप शुरुवात गरिएको हो, सरकारको स्मार्ट नागरिक बनाउने उद्देश्य अनुसार एप ल्याइएको हो,’ बस्यालले भने ।

उनका अनुसार एपमा हाल ९ वटा कार्यक्रम समावेश गरिएको हो ।

जसमध्ये नागरिकता, मतदाता परिचयपत्र र पासपोर्टबारे सम्पूर्ण जानकारी उपलब्ध गराइएको छ । जस्तै गृहमन्त्रालय अन्तर्गत भएको २ करोड १५ लाख नागरिकताका विवरण, निर्वाचन आयोगसँग भएको १ करोड ५५ लाख वटा औठाछापसहितको मतदाता परिचयपत्र, ६५ लाखभन्दा बढी नागरिकको राहदानी विभागसँग भएको तथ्यांक एपमा हुनेछ । एपले सरकारी कामकाजमा बुझाउनुपर्ने कागजातको साटो काम गर्न सहयोगी हुनेछ ।

एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर प्राप्त गर्न सकिन्छ । आफ्नो मोबाइल नम्बर राखिसकेपछि एप सञ्चालन गर्न सकिन्छ । कुनै कार्यालयले दिने सेवाका लागि प्यान विवरण चाहिने भएमा प्यान नम्बर राखेकै भरमा कार्यालयले राजस्व विभागसँग पहुँच राख्न र उक्त सूचना लिन सक्छ । अर्थात् तपाईंले प्यान कार्डको फोटोकपी बुझाउनु पर्दैन । एपमा कुनै पनि विवरण भर्नु वा अपलोड गर्नु पर्दैन । एपले आवश्यक जानकारी लिने र पुष्टि गर्ने काम गर्दछ ।

स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा एपबाट हुनेछ । नागरिक एप एक क्लिक गरेका भरमा आफै आवेदन भरिन्छ । सरकारका विभिन्न निकायसँग भएका तपाईंका विवरणहरु स्वचालितरुपमा रुजु गर्छ ।

यो एपमा पहिलो चरणमा सरकारी र दोस्रो चरणमा अर्ध सरकारी सेवा समेटिनेछ । यसले भ्रष्टाचार न्यूनिकरणमा समेत सहयोगी हुने विश्वास गरिएको छ ।


क्लिकमान्डु