निर्माण सामग्रीमा मूल्यवृद्धि, सरकारले नियन्त्रण गर्न नसकेको व्यवसायीको आरोप



काठमाडौं । कोभिडपछि विकास निर्माणका काम शुरु भएसँगै निर्माण सामग्रीमा अस्वभाविक मूल्यवृद्धि भएको छ । जसको असर उपभोक्ताको बजेटमा देखिएको छ । निर्माण सामग्रीमा अस्वभाविक मूल्यवृद्धि भए पनि सरकारले केही नगरेको भन्दै व्यवसायीहरुले आरोप लगाएका छन् ।

नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडाैंका अध्यक्ष अचुतम कट्वालले निर्माण सामग्रीमा उद्योगीहरुले अस्वभाविक मूल्यवृद्धि गरेको आरोप लगाए ।

‘कोभिडपछि विकास निर्माण र घर निर्माणको काम भइरहेको छ । तर उद्योगीहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि गराएका छन् । कोभिडपछि माग त बढ्ने भइहाल्यो । जसमा उद्योगीहरुले सिमेन्ट, छडलगायतमा मूल्य बढाएका छन्,’ उनले भने ।

उनले उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको हवला दिँदै यति बढ्यो उति बढ्यो भन्दै अत्यधिक मूल्यवृद्धि गराइरहेको आरोप लगाए ।

‘हामी त बीचमा बसेर सेवा उपलब्ध गराएवापत नाफा खाने व्यक्ति हो । यहाँ उद्योगीहरुले धमिलो पानीमा माछा मार्न थाले,’ उनले भने ।

उनका अनुसार यसअघि ६७÷६८ रुपैयाँ केजी पर्ने स्टिल अहिले १ सय रुपैयाँभन्दा माथि छ भने सिमेन्टमा पनि सिमेन्टमा पनि ५० देखि ६० रुपैयाँसम्म बढेको छ ।

बजारमा निर्माण सामग्रीमा यसरी मूल्यवृद्धि हुँदा समेत सरकार निदाएर बसेको उनले आरोप लगाए । उनले सरकारले यसबारेमा सुक्ष्मरुपले अध्ययन गरी मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने माग गरे ।


क्लिकमान्डु