कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीले खाने तेलको मूल्य बढाए



काठमाडौं । कोरोना भाइरसले आर्थिक मन्दी खेपिरहेको अवस्थामा भान्सामा नभई नहुने खाने तेलको मूल्य अत्याधिक रुपमा बढेको छ । कोरोना भाइरस महामारीले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अभाव तथा मूल्य वृद्धि भएको भन्दै उद्योगीहरूले तेलको मूल्य बढाएको हो ।

तेल उत्पादक उद्योगीहरूका अनुसार अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको अभाव र मूल्य वृद्धि भएसँगै बजारमा तेलको मूल्य वृद्धि भएको जनाएको छ ।

केही महिनाको तुलना गर्दा हाल उत्पादन भएका तेलको प्रतिलिटर १५ रुपैयाँसम्म बढेको आम उपभोक्ताहरूको भनाइ छ । साथै, यसरी नै बढ्दै गयो भने आगामी दिनमा तेल खाना नसक्ने उनीहरूको गुनासो छ ।

त्यसैगरी, उद्योगीहरूले एक महिना अघि वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागसमक्ष अन्तर्राष्ट्रिय बजारमै तेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्य वृद्धि भएकाले तेलको मूल्य वृद्धि भएको भन्दै छलफल गर्न पुगेका थिए । उक्त छलफलमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अभाव र मूल्य बढेकाले नेपालमा पनि आयात गरी उत्पादन गर्दा मूल्य वृद्धि भएको जनाएको थियो ।

साथै, उद्योगीहरूलाई नै उत्पादन गर्न धेरै खर्च भएकाले तेलको मूल्य बढ्न गएको स्पष्टिकरण दिएको विभागले जनाएको छ । यससँगै, आगामी दिनमा पनि कच्चा पदार्थको मूल्य वृद्धि भएमा अझ बढ्ने उद्योगीहरूको अनुमान छ ।

तर, खुद्रा व्यापार गर्ने व्यवसायीहरूले भने हरेक वर्ष चिसो मौसममा तेलको मूल्य बढाउने प्रवृत्ति उस्तै रहेको बताएका छन् । यस्तै, श्रेष्ठ स्टोरको सञ्चालक राम नारायण श्रेष्ठका अनुसार विगतको तुलनामा हरेक तेलको मूल्यमा प्रति लिटर १५ रुपैयाँसम्म बढेको बताए ।

बजारमा पाइने सोयाबिन तेल, सन्फ्वार तेललगायत सबै प्रकारको तेलको मूल्य बढेको उनले जानकारी दिए । उनले अन्य खुद्रा पसलको तुलनामा होलसेल मूल्यमा प्रदान गरेता पनि विगतको तुलनामा भन्दा केही महंगो पर्ने उनले बताए ।

बजारमा पाइने राजहंस, सन्फ्लो, स्वास्तिक, बिगुललगायत अन्य सबै प्रकारको तेलको एक कार्टुनको मूल्य आम उपभोक्तालाई १७ सयदेखि १८ सयसम्म बढी मूल्य पर्ने उनको भनाइ छ । ‘हरेक वर्ष झैं यो वर्ष पनि सोही समयमा कोरोनाले कच्चा पदार्थको मूल्य वृद्धि भएर तेलको मूल्य वृद्धि भएको जनाएको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘तर, यो वर्ष मात्रै नभई हरेक वर्ष चिसोको मौसममा उद्योगीहरूले विविध समस्या देखाएर मूल्य वृद्धि गर्ने प्रवृत्ति पुरानै हो ।’

उद्योगीहरूसँग तथ्याङ्क माग्दै विभाग

उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अत्याधिक मूल्य वृद्धिले तेलको मूल्य वृद्धि भएको बयान दिएको थियो । त्यही अनुरुप विभागले भने नेपालमा तेल उत्पादन गर्ने व्यवसायीहरूलाई भने कच्चा पदार्थ आयात गरेको तथ्याङ्क माग गरेको विभागका निर्देशक एवम् प्रवक्ता शिवराज शेडाईं बताउँछन् । उनका अनुसार विभागलाई उद्योगीहरूले उक्त समस्या विभागलाई बताएता पनि कच्चा पदार्थको मूल्य बढेको हो वा होइन भन्ने यकिन गर्नको लागि तथ्याङ्क उपलब्ध गराउन माग गरेको बताए ।

‘विभागले तेलको मूल्य बढाउनुका कारण प्राकृतिक हो या कृत्रिम भन्ने विषयमा स्पष्ट गर्नेछौं,’ उनले भने ‘उद्योगीहरूले प्रारम्भिक रुपमा कच्चा पदार्थ महंगो तिरेर ल्याएका छौं । त्यसैले महंगो परेको हो भनेको छ । तर, उद्योगीहरूले आयात गरेको कच्चा पदार्थको तथ्याङ्क उपलब्ध भएमा कारण के हो थाहा पाउन सहज हुनेछ ।’

उनका अनुसार तोरीबाहेकको तेलमा अत्याधिक मूल्य बढेसँगै विभागले यसबारे अध्ययन शुरु गरेको बताए ।

हाल नेपाली बजारमा तेलको मूल्य बढेता पनि चालु आर्थिक वर्षको पाँच महिनामा भने सबैभन्दा बढी तेल निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै भारत सरकारले नेपालमा उत्पादन भएको पाम आयलमा प्रतिबन्ध लागएसँगै भट्मासको तेलको निर्यात बढेको छ । नेपालले पाँच महिनामा मात्रै १३ अर्ब ५० करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको ९ करोड ३५ लाख ५४ हजार केजी भट्मासको तेल निर्यात गरेको छ ।


क्लिकमान्डु