अघोषित लोडसेडिङसँगै जेनेरेटर र ब्याट्रीको आयात बढ्यो



काठमाडौं । गत भदौमा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सक्यो ।

दुई वर्षको कार्यकाल पूरा गरेका घिसिङले लोडसेडिङको मुक्त गरेको भन्दै सर्वसाधारणहरूले पुनः नियुक्तिको माग गरेका थिए ।

त्यति मात्रै नभई पुनः नियुक्तिको माग राख्दै विभिन्न स्थानमा प्रदर्शनसमेत गरेको थिए । तर, पुनः नियुक्ती भने हुन सकेन ।

घिसिङ बाहिरिएसँगै अब लोडसेडिङ हुने आशंका बढेसँगै बजारमा अत्यधिकरुपमा जेनेरेटर, इन्भर्टर र ब्याट्रीको माग आउन थालेको व्यवसायीहरूको भनाइ छ ।

पछिल्लो समय देशका विभिन्न स्थानमा छिनछिनमै बत्ति आउने जाने समस्या भोगिरहेको आम सर्वसाधारणहरूको गुनासो छ ।

साथै, आगामी दिनमा विगतको जस्तै दिन भोग्नुपर्ने हो की आशंका गरिरहेका छन् । साथै, बजारमा जेनेरेटर, कन्भर्टर र ब्याट्रीको माग बढ्न थालको र आयात पनि बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

गत भदौमा घिसिङ प्राधिकरणबाट बाहिरिएसँगै विद्युतको विकल्प जेनेटर, इन्भर्टर तथा ब्याट्रीको आयात ह्वात्तै बढेको छ ।

भन्सार विभागको पाँच महिनाको तथ्याङक अनुसार गत वर्षको तुलनामा अत्यधिक मात्रामा उक्त सामग्रीहरूको आयात बढेको हो ।

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनाको अवधिमा १५४ थान जेनेरेटर आयात भएको थियो । तर, चालु आवको सोही अवधिमा २२७ जेनेरेटर आयात भएको छ । जुन गत वर्षको तुलनामा ७३ थान बढी हो ।

त्यस्तै आव २०७४/७५ मा २० हजार ८ सय १४ थान आयात भएकोमा लोडसेडिङ ठप्प भएसँगै उक्त संख्या घटेर २४ सय ५ मा झरेको थियो ।

यस्तै, आव २०७४/७५ बाट ब्याट्रीको आयात निरन्तर बढेको देखिन्छ । उक्त वर्षको पाँच महिनाको अवधिमा १ लाख ६ हजार ८ थान ब्याट्री आयात भएकोमा आव २०७५/७६ मा बढेर २ लाख २९ हजार २ सय ३८ ब्याट्री आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

तर, २०७६/७७ मा भने घटेर १ लाख ७७ हजार ९ सय ७० ब्याट्री आयात भएको थियो । तर, चालु आवको पाँच महिनामा भने ह्वात्तै बढेर ३ लाख १५ हजार ५ सय ९८ आयात भएको तथ्याङ्कले उल्लेख गरेको छ । जुन विगत तीन वर्षको तुलनामा हालसम्मकै सबैभन्दा बढी आयात भएको छ ।

त्यसैगरी, आव २०७४/७५ देखि इन्भर्टरको आयात भने निरन्तर घटेको देखिन्छ । उक्त आवको पाँच महिनाको अवधिमा २१ हजार ७ सय ५४ थान इन्भर्टर आयात भएको थियो । सोही अवधिमा उक्त संख्या निरन्तर घटेर २०७५/७६ मा ५६, २०७६/७७ मा ५० र चालु आवमा २९ इन्भर्टर आयात भएको छ ।

अब लोडसेडिङ हुँदैन : प्राधिकरण

कुलमान घिसिङ बाहिगर्मनसँगै लोडसेडिङ हुने आम मानिसमा आशंका बढ्दै गएपछि प्राधिकरणले पटकपटक प्रेस विज्ञप्ति जारी गरी अब लोडसेडिङ नहुने बताउँदै आएको छ ।

प्राधिकरणले गत १६ गते पनि प्रेस विज्ञप्ति जारी गरेर विद्युतका उपभोक्ताको माग र आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता हुने जनाएको छ ।

साथै, प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि नगरिने स्पष्टिकरण दिएको छ ।

प्राधिकरणका अनुसार राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षकताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको जनाएको छ । यद्यपि विभिन्न अवरोध न्यूनीकरण निराकरण गर्न प्राधिकरण सक्षम रहेको प्राधिकरणको भनाइ छ ।

‘विभिन्न कारणले विद्युतका पोलहरू सार्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्ने प्रिभेन्टिभ कार्य भइरहेको छ ।

यसले गर्दा सञ्चालन र विद्युत् प्रवाह भइरहेको संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत सम्भार विद्युत आपूर्ति सुचारु गर्ने गरिएको छ, जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु