नेपाल सुनचाँदी व्यवसायी महासंघको महाअधिवेशन २४ र २५ गते हुने
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन पुस २४ र २५ गते काठमाडौंमा हुने भएको छ । महासंघको यस साधारणसभा तथा अधिवेशनमा देशभरका ६५ जिल्लारनगर संघ तथा वस्तुगत र एसोसिएट सदस्यहरूको तर्फबाट ऐतिहासिक रुपमा ६०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरूले सहभागिता जनाउने भएको छ । कोरोना संक्रमण विद्यमान रहेको हालको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुरुप कार्यक्रम संचालन गरिने महासंघले जनाएको छ ।
साधारणसभामा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा उद्घाटन सत्र हुनेछ भने शनिबार बन्द सत्र तथा निर्वाचनको कार्यक्रम रहेको छ । निर्वाचनबाट ५५ सदस्यीय नयाँ कार्य समिति बन्नेछ ।
साधारणसभामा कोरोना महामारीका कारण र नेपाल सरकारबाट सुनको कोटालाई २० किलोबाट १० किलोमा झारी आधा कटौती गरेपछि अत्यधिक रुपमा प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन साझा एजेन्डाका लागि गम्भीर छलफल हुने महासंघले जनाएको छ ।
२०६९ साल फाल्गुण २० गते विधिवत रुपमा दर्ता भएको महासंघले देशभरिका सुनचाँदीका व्यवसायीहरुको हक हित र अधिकार प्राप्तिका लागि मात्र नभई गुणस्तरीय गरगहनाहरुको उत्पादन, व्यवसायिक इमान्दारीता, उपभोक्तामुखी सेवा र सामाजिक उत्तरदायित्वको साथ देशको आर्थिक सम्बृद्धिमा योगदान गर्दै आएको छ ।
साथै, विगत वर्षमा झैँ यसपटकको सातौं तथा आठौं बार्षिक साधारणसभामा पनि छापा, विद्युतीय र अनलाइन गरी तीन विधाका तीन सञ्चारकर्र्मीलाई सम्मानित गर्ने भएको छ ।