नेपालको आर्थिक वृद्धि यो वर्ष ०.६ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । नेपालको आर्थिक वृद्धि यो वर्ष ०.६ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण गरेको छ ।

कोरोनाका कारण पर्यटनमा आश्रित नेपाल, मालदिभ्स, भुटान र श्रीलंकाको अर्थतन्त्रमा ठूलो असर परेको थियो । कोरोनाको असर अझै लामो समयसम्म रहने देखिएकाले यी देशको अर्थतन्त्रमा मध्यमखालको सुधार हुने बैंकको अनुमान छ ।

कोरोनाका कारण दक्षिण एसियाको अर्थतन्त्र सन् २०२० मा ६.७ प्रतिशतले खुम्चिएको छ ।

त्यसैगरी सन् २०२१ मा विश्व अर्थतन्त्र ४ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण भइरहेको अवस्थामा यसको सकारात्मक प्रभाव विश्वको अर्थतन्त्रमा देखिन सक्ने बैंकको भनाइ छ ।

सन् २०२० मा ४.३ प्रतिशतले घटेको विश्वको अर्थतन्त्र आगामी वर्षमा भने बढ्न सक्ने बैंकको भनाइ छ । कोरोना महामारीले लाखौं मानिसको मृत्यु तथा धेरै बिरामी परेको, लाखौं मानिसहरु गरिबीतर्फ धकेलिएको र आर्थिक गतिविधिमा संकुचन आएको विश्व बैंकको भनाइ छ ।

तर भ्याक्सिन आउन र सर्वसुलभ हुनका लागि धेरै समय लाग्यो भने विश्वको अर्थतन्त्र १.६ प्रतिशतमा मात्रै सीमित हुन सक्ने पनि विश्व बैंकको प्रक्षेपण छ ।

बैंकले अमेरिकाको जीडीपी सन् २०२१ मा ३.५ प्रतिशतले बढ्ने आँकलन गरेको छ । अमेरिकाको जीडीपी सन् २०२० मा ३.६ प्रतिशत घटेको थियो ।

त्यसैगरी सन् २०२० मा ७.४ प्रतिशतले घटेको युरोपियन क्षेत्रको जीडीपी आगामी वर्ष ३.६ प्रतिशतले बढ्ने आँकलन गरिएको छ । त्यसैगरी ५.३ प्रतिशतले घटेको जापानको जीडीपीमा सन् २०२१ मा २.५ प्रतिशतले बृद्धि हुने प्रक्षेपण छ । त्यसैगरी चीनको जीडीपी सन् २०२० मा २ प्रतिशतले घटेकोमा आगामी वर्ष ७.९ प्रतिशतले बढ्ने प्रक्षेपण छ ।


क्लिकमान्डु