निजी क्षेत्रलाई स्वतन्त्र छाडेकाले मूल्यवृद्धि भयोः उद्योगमन्त्री लेखराज भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गरिने बताएका छन् ।
शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले विभिन्न वस्तुहरुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकाले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताए ।
अहिले दाल, फलाम, सिमेन्ट लगायतको वस्तुहरुमा अत्यधिक महँगी बढेको गुनासो आएकाले मूल्यवृद्धि नियन्त्रण आफै गर्न उद्योग व्यवसायीका संगठनहरुलाई आग्रह गरे । आफै मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर अनुगमन गर्ने र गल्ति गर्नेलाई नछाडने उनले स्पष्ट पारे ।
निजी क्षेत्रलाई स्वतन्त्ररुपमा छाडिएको अवस्थामा व्यवसायीहरुले मूल्यवृद्धि गरेर बजारलाई महँगो बनाएको पनि मन्त्री भट्टले बताए । उद्योगी व्यवसायीहरुलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको तर केही उद्योगी व्यवसायीले अस्वभाविक मूल्यवृद्धि गराई बजारलाई प्रभावित पारेको उनले आरोप लगाए । तर पनि सरकारले उत्पादन बढाउन, लगानी आकर्षित गर्न काम गरिराखेको उनको भनाइ थियो ।