राष्ट्र बैंकले एकमुष्टरुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन माग्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकमुष्टरुपमा प्रदान गरिने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ ।
राष्ट्र बैंकले यसका लागि आवेदन बुझाउने अन्तिम मिति माघ १६ गतेका लागि तोकेको छ । राष्ट्र बैंकले गत साउन १२ गते जारी गरेको कोभिडबाट अति प्रभावित, मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाका लागि आवेदनहरु योग्य हुने समेत स्पष्ट पारेको छ ।
आवेदन दिनका लागि माग गरिएको कुल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २० प्रतिशतसम्म हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय स.स्थामार्फत् कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक÷बित्तीय संस्थाबाट मात्रै आवेदन भएको सुनिश्चित हुनुपर्ने मापदण्ड तोकेको छ ।
आवेदन दिँदा अधिकतम मात्रामा समेट्ने गरी आवेदन दिनुपर्ने तथा आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक÷ऋणी समेटिएको हुनुपर्ने समेत उल्लेख छ ।
राष्ट्र बैंकसँग अहिले ४२ अर्ब ५८ करोड रुपैयाँको कोष छ । जसमा ५ गुणासम्म पुनरकर्जा दिन सक्नेछ । पुनरकर्जा ५ प्रतिशत ब्याजदरमा १ वर्षसम्म चलाउन पाइन्छ ।