आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन पाइने



काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीले लागि आजबाट अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन पाउने भएका छन् ।

वैदेशिक रोजगारी विभागले नेपालीहरूको सहजताको लागि आजदेखि उक्त अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।

विगतका दिनमा श्रम स्वीकृतिको म्याद सकेको खण्डमा स्वदेशमै आएर पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था थियो । तर अबदेखि संसारका जुनसुकै कुनाबाट पनि श्रमिकले पुनः श्रम स्वीकृति लिन सक्नेछन् । यसले गर्दा विदेशमा रहेका श्रमिकले विदेशमै बसेर पुनः श्रम स्वीकृति लिई लाभ लिन सक्नेछन् ।

साथै, रोजगारीबाट बिदामा फर्किएकाहरूले पनि घरबाटै अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन् । आजबाट लागू भएको व्यवस्थाले पुनः श्रम स्वीकृतिका लागि स्वदेश फर्किनुपर्ने तथा वैदेशिक रोजगार कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य भएको विभागले जनाएको छ ।

यस्तो छ व्यवस्था

विभागले सञ्चालनमा ल्याएको अनलाईनमार्फत पुनः श्रम स्वीकृतिको लागि एक पटक विभागको अनलाइन पणालीबाट बायोमेट्रिक गरेर श्रम स्वीकृति लिईसकेकाहरूले लिन सक्नेछन् । अनलाईनमार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त विभागको वेवसाइट (dofe.gov.np) को अनलाईन श्रम स्वीकृति एफईआईएमएस मार्फत फारम भर्न सक्नेछन् । उक्त फारम भरिसकेपछि शाखा छान्ने बेलामा अनलाइन शाखा छान्नुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवदेन रिजेक्ट भएमा सोको कारण सहितको एसएमएस आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको प्रयोगकर्ता एकाउन्टमा सूचना जानेछ ।

त्यसैले आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही भर्नुको साथै स्वीकृतिको लागि आवेदन गर्दाको प्रयोगकर्ता र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवदेनको फारम भर्दाको एफईआईएमएसको प्रयोगकर्ता एकाउन्ट र इमेल ठेगाना दुबैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेहुँदा आवदेक आफैले आवश्यकता अनुसार प्रिन्ट गर्न सक्नेछन् ।

साथै, म्यादी बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत समेत भुक्तानी गर्न सक्नेछन् । अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क नलाग्ने विभागले जनाएको छ ।


क्लिकमान्डु