सिटिजन्स बैंकले विदेशबाट फर्केका युवालाई १० लाखसम्म सहुलियत दरमा ऋण दिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण दरमा कर्जा दिने भएको छ ।
रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाले बैंकबाट १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा पाउने भएका छन् । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र उक्त जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यले बैंकले रिटर्नी नेपालसँग सम्झौता गरेको जनाएको छ ।
यसरी दिएको कर्जाले मिहिनेत गर्न सक्ने उमेर, जोश जागर, विदेशबाट आर्जित शिप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने बैंकले विश्वास लिएको जनाएको छ ।
बिदेशमा रहंदा रोजगारीमा मात्रै केन्द्रित हुनुपर्ने कारणले गर्दा व्यावशायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिमा यो सम्झौता महत्वपूर्ण हुने बैंकले जनाएको छ ।
राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले १०९ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकले देशभरका १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको जनाएको छ ।