भारतीय बजारमा अलैँचीको माग बढेसँगै मूल्य वृद्धि, मंसिरसम्ममा ३ अर्बको निर्यात



काठमाडौं । भारतमा यो वर्ष अलैँची उत्पादनमा कम भएसँगै नेपालमा उत्पादन भएको अलैचीँको माग बढ्न थालेको छ ।

विगतको दिनमा भारतमा अलैचीँको उत्पादन बढी भएकै कारणले नेपाली बजारको मूल्य घटेको थियो । तर, यो वर्ष पुनः भारतमा अलैँचीउत्पादनमा कम भएसँगै नेपाली बजारको अलैचीँको माग बढेको हो ।

त्यसैगरी, भारतीय बजारमा अलैचीँको अभाव हुँदा नेपालमा उत्पादन भएको अलैचीँको भाउ निकै बढ्ने अलैँचीव्यवसायीहरू बताउँछन् ।
अलैँची व्यवसायी महासंघका उपाध्यक्ष इन्द्र चन्द्र बिन्डलका अनुसार नेपालमा उत्पादन भएका अधिकांश अलैँची भारतमा निर्यात हुने भएकाले भारतको बजार अनुसार मूल्यमा घटबढ हुने बताए ।
उत्पादन १५ प्रतिशतले बढी

नेपालमा उत्पादन भएको करिब ६० प्रतिशत अलैँची भारतमै निर्यात हुँदै आएको उपाध्यक्ष बिन्डलले जानकारी दिए । त्यस्तै गत वर्षको तुलनामा यो वर्ष नेपालमा करिब १५ प्रतिशतले उत्पादन बढी भएको उनको भनाइ छ । साथै, उत्पादन बढी भएता पनि बजारमा किसानले भने उचित मूल्य नपाएको उनको गुनासो छ । हाल किसानले करिब एक चौथाइ मात्रै मूल्य पाइरहेको उनले बताए ।

मूल्यमा वृद्धि

विगतको दिनमा भारतीय बजारमा माग बढी हुँदा अलैँचीको दाम प्रतिमन (४० किलोको एक मन) एक लाखसम्म पुगेको थियो । उक्त मूल्य अहिलेसम्मको सबैभन्दा उच्च मूल्यमा बिक्री व्यवसायीहरूको भनाइ छ । तर, उक्त मूल्यमा कायम गर्न भने नसकेको तिनीहरूको भनाइ छ ।

हाल भारतमा अलैचीँको माग बढेसँगै नेपालमा उत्पादन भएका अलैचीँको मूल्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । यसले गर्दा यस क्षेत्रमा आबद्ध भएका किसानहरूमा उत्साह मिलेको उपाध्यक्ष बिन्डलको बुझाइ छ । साथै, कोरोना भाइरस अगाडिसम्ममा प्रतिमन २२ हजार रहेकोमा अहिले बढेर २७ हजारसम्म पुगेको छ । साथै, गत वर्षको तुलना गर्दा पनि मूल्यमा गिरावट नहुने उनको अनुमान छ ।

पाँच महिनामा ३ अर्बको निर्यात

नेपाल उत्पादनमध्ये भारतीय बजारमा अत्याधिक निर्यात हुने वस्तु हो अलैँची। आर्थिक वर्ष २०७७/७८ को मंसिर महिनासम्ममा ३ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बराबरको ३९ लाख ५६ हजार केजी अलैँचीनिर्यात भएको छ ।

त्यस्तै आव २०७६/७७ को सोही अवधिमा नेपालबाट १ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ बराबरको २३ लाख १६ हजार केजी अलैँचीनिर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा माग बढेसँगै झन्डै डेढ अर्ब रुपैयाँ बढीको अलैँचीनिर्यात भएको छ ।


क्लिकमान्डु