सुझबुझ र संयमतापूर्वक निर्णय लिन राजनीतिक दललाई निजी क्षेत्रको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले संयुक्तरुपमा पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि वारम्बार सुझाव दिँदै आइएको जारी सयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गति लिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न हुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।

विश्वव्याधी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित रहेको उनीहरुको भनाइ छ ।

राजनीतिक स्थिरताको आर्थिक विकाससंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्यौलता सृजना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिन्तित भएको छ र भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्नेमा उनीहरुको चिन्ता छ ।

अतः नेपाल उद्योग वाणिज्य महासघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघ संयुक्त रुपमा आजको यस बिषम परिस्थितिमा सम्पूर्ण राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गर्दछ ।


क्लिकमान्डु