अर्थमन्त्रालय मातहतका निकायको बेरुजु ५५ अर्ब बढी



काठमाडौं । अन्य मन्त्रालय तथा निकायलाई वित्तीय अनुशासन सिकाउने अर्थमन्त्रालयले नै वित्तीय अनुशासन पालना गर्न नसकेको देखिएको छ ।

अन्य मन्त्रालयमा भएको बेरुजु फछ्यौट गर्न ताकेका गर्नुपर्नेमा अर्थमन्त्रालय मातहतका कार्यालयको ५५ अर्ब १२ करोड ७० लाख ४३ हजार रुपैयाँ बेरुजु फछ्यौट हुन बाँकी छ ।

आर्थिक वर्ष २०७७/७८ मा ५६ अर्ब ६७ करोड ७ लाख ९ हजार रुपैयाँ बेरुजु फछ्यौट गर्नुपर्नेमा चालु आर्थिक वर्षको चार महिनामा २.७२ अर्थात १ अर्ब ५४ करोड ३५ लाख ६६ हजार रुपैयाँ मात्रै फछ्यौट भएको छ ।

यो बेरुजु अर्थमन्त्रालय मातहतका कार्यालयका साथै विभिन्न समितिहरुको पनि हो । समितिबाहेक अर्थमन्त्रालय मातहतका कार्यालयको बेरुजु ५६ अर्ब ३७ करोड २७ लाख ७० हजार रुपैयाँ रहेकामा १ अर्ब ५१ करोड ३१ लाख २७ हजार रुपैयाँ चार महिनामा फछ्यौट भएर अझै ५४ अर्ब ८५ करोड ९६ लाख ४३ हजार रुपैयाँ छ ।

समितिहरुको मात्रै बेरुजु २६ करोड ७४ लाख रुपैयाँ बाँकी रहेको छ । अर्थ मन्त्रालयले नै बेरुजु फछ्यौटमा कम ध्यान दिएको छ ।

चालु आवको पहिलो चौमासमा अर्थमन्त्रालयसहित माहतका ६ वटा निकयामा बेरुजु देखिएको थियो । हालसम्म अर्थमन्त्रालयको १ करोड ३ लाख १४ हजार रुपैयाँ बेरुजु फछ्यौट भएको छ भने अरु कुनै निकायको पनि बेरुजु फछ्यौछट हुन सकेको छैन ।

चालु आवको पहिलो चौमाससम्ममा अर्थमन्त्रालय निजीकरण, वित्त व्यवस्थापन तालीम केन्द्र, ऋण असुली न्यायाधीकरणमा देखिएको बेरुजु फछ्यौटमा कुनै प्रगति हुन सकेको छैन ।

मन्त्रालयका अनुसार चालु आवको चार महिनाको अवधिमा अर्थमन्त्रालय निजीकरणतर्फ १ अर्ब ७८ करोड ९८ लाख १ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यो रकम फछ्यौत हुन बाँकी नै छ ।

त्यस्तै महालेखा नियन्त्रक कार्यालयको बेरुजु २३ करोड २३ लाख २ हजार रुपैयाँ रहेकोमा चालु आवको चार महिनामा १३ लाख ९९ हजार फछ्यौट भएको छ भने अझै २३ करोड ९ लाख ३ हजार रुपैयाँ बाँकी नै रहेको छ ।

त्यस्तै आन्तरिक राजस्व विभागको बेरुजु ४९ अर्ब ६२ करोड ११ लाख ३१ हजार रुपैयाँ छ । जसमा १ अर्ब ४० करोड ९५ लाख ६० हजार रुपैयाँ फछ्यौट भएको छ भने अझै ४८ अर्ब २१ करोड १५ ७१ हजार रुपैयाँ बाँकी नै रहेको छ ।

मन्त्रालयका अनुसार भन्सार विभागको ४ अर्ब ७० करोड ७९ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेको छ । जसमा ९ करोड १८ लाख ५४ हजार रुपैयाँ मात्रै फछ्यौट भएको छ भने ४ अर्ब ६१ करोड ६१ लाख ३२ हजार अझै बाँकी छ ।

यस्तै वित्त व्यवस्थापन तालिम केन्द्रको ९४ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेकोमा कुनै पनि रकम फछ्यौट हुन सकेको छैन भने ऋण असुली न्यायाधीकरणको पनि १८ लाख २ हजार रुपैयाँ रहेको छ ।

अर्थमन्त्रालय मातहतका निकायको मात्रै बेरुजु फछ्यौट हुन ५४ अर्ब ८५ करोड ९६ लाख ४३ हजार रुपैयाँ छ भने विभिन्न समितिहरुको बेरुजु २९ करोड ७८ लाख ३९ हजार रुपैयाँ रहेकामा अहिलेसम्म ३ करोड ४ लाख ३९ हजार फछ्यौट भएर अझै २६ करोठ ७४ लाख रुपैयाँ बाँकी रहेको छ ।


क्लिकमान्डु